बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप दुवैको ब्याजदर उल्लेख्य रूपमा घटाएका छन् । निजी क्षेत्रबाट कर्जा माग अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको अवस्था देखिएको हो ।
Nepal Rastra Bank का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर घटेर ६.७७ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर ८.२२ प्रतिशत रहेको थियो । यसरी एक वर्षमै कर्जा ब्याजदर १.४८ प्रतिशत बिन्दुले घटेको देखिएको छ ।
त्यस्तै, विकास बैंकहरूको औसत कर्जा ब्याजदर ७.९६ प्रतिशत र वित्त कम्पनीहरूको ९.२६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यी दर क्रमशः ९.५९ प्रतिशत र १०.४० प्रतिशत थिए ।
कर्जा मात्र होइन, निक्षेपको ब्याजदर पनि निरन्तर घटिरहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशतमा झरेको छ, जुन गत वर्ष ४.४५ प्रतिशत थियो । विकास बैंकहरूको निक्षेप ब्याजदर ३.७७ प्रतिशत तथा वित्त कम्पनीहरूको ४.७४ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंकहरूको आधार दर पनि घट्दो क्रममा रहेको छ । चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत बेस रेट ५.०६ प्रतिशतमा झरेको छ । गत वर्ष यस्तो दर ६.२९ प्रतिशत थियो । विकास बैंक र वित्त कम्पनीहरूको आधार दर पनि उल्लेख्य रूपमा घटेको छ ।
बजारमा अधिक तरलता हुँदा सरकारी ऋणपत्रको प्रतिफल र अन्तरबैंक ब्याजदरमा पनि गिरावट आएको छ । ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०६ प्रतिशतबाट घटेर २.६१ प्रतिशतमा पुगेको छ भने अन्तरबैंक दर पनि ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
विश्लेषकहरूका अनुसार निक्षेप उच्च दरमा बढिरहे पनि निर्माण, उद्योग र व्यापार क्षेत्रमा सुस्तता कायम रहँदा निजी क्षेत्र नयाँ लगानी विस्तारमा अझै सतर्क देखिएको छ । यही कारण बैंकहरूले कर्जा प्रवाह बढाउन ब्याजदर घटाउँदै आएका छन् ।
घट्दो ब्याजदरले घरजग्गा, अटोमोबाइल, शेयर बजार तथा व्यवसायिक कर्जातर्फ केही आकर्षण बढ्न थालेको विश्लेषण गरिएको छ । तर बचतकर्ताका लागि भने निक्षेपबाट प्राप्त हुने प्रतिफल कमजोर बन्दै गएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेर ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कर्जा विस्तार ७.१ प्रतिशत रहेको थियो । यसले चालु वर्षमा कर्जा विस्तारको गति सुस्त बनेको संकेत गरेको छ ।
यता, बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ८.५ प्रतिशतले बढेर ७८ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेप वृद्धिदर १५.५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
विश्लेषकहरूका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता, घट्दो ब्याजदर र सुस्त कर्जा विस्तारले अहिले अर्थतन्त्रमा पैसा उपलब्ध भए पनि लगानीको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको संकेत गरेको छ ।





