चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा निर्यात ५८.२ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धि दर १६.५ प्रतिशत मात्र रहेको थियो। गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ८२.७ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, चीनतर्फको निर्यात भने ७३.३ प्रतिशतले घटेको देखिन्छ।
वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटजन्य सामग्री, जुत्ता तथा चप्पलको निर्यातमा वृद्धि भएको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको छ।
यसै अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७ खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि दर ३.० प्रतिशत मात्र थियो। मुलुकगत आधारमा भारतबाट हुने आयात ५.७ प्रतिशत, चीनबाट २४.६ प्रतिशत र अन्य मुलुकबाट ४०.८ प्रतिशतले बढेको छ।
वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन तथा दालको आयात घटेको छ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले मात्र बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ११.१ प्रतिशतभन्दा उच्च हो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७२ अर्ब ८४ करोड रुपैयाँभन्दा कम हो।
त्यस्तै, कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.८ प्रतिशत, मध्यवर्ती वस्तुको २९.६ प्रतिशत र पुँजीगत वस्तुको ०.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५५.० प्रतिशत, ४४.१ प्रतिशत र ०.९ प्रतिशत थिए।





