बाह्य क्षेत्र सुदृढ: विदेशी विनिमय सञ्चिति २२ अर्ब १३ करोड डलर, चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा
Author
NEPSE TRADING

काठमाडौं। नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र हाल सुविधाजनक अवस्थामा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति, चालु खाता तथा शोधनान्तर स्थिति सबै सूचक सकारात्मक अवस्थामा रहेका छन्।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २२ अर्ब १३ करोड पुगेको हो।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ। मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
आर्थिक वर्ष २०८२-८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन्। २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।
यसअघि २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ३४.८ प्रतिशत, १२.८ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए। पछिल्लो तथ्यांकले विदेशी विनिमय सञ्चिति, आयात क्षमता तथा समग्र बाह्य क्षेत्रको अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।
बाह्य क्षेत्रका यी सूचकहरूले देशको विदेशी मुद्रा स्थिति सुदृढ बन्दै गएको संकेत गरेका छन्।
चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा
मंसिरसम्म चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा चालु खाता बचत २ अर्ब ५४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोड मात्र थियो।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ थियो। यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढी हो।
शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा
शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ। मंसिरसम्म शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा थियो। डलरमा शोधनान्तर बचत २ अर्ब ९८ करोड पुगेको छ।


