काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट भइसकेको छ।
दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहने १४ लाख ३९ हजार १७९ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको हो। यसअनुसार सर्वसाधारणबाट संकलन हुने रकम १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबर हुनेछ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
बैंकको आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले सालपा विकास बैंकलाई आईआरएन सिंगल बी (IRN Single B) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।
आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सि–आस्बा प्रयोग गरी आईपीओ आवेदन दिन सकिने व्यवस्था गरिएको छ।





