प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३१ करोड निकासा
Author
NEPSE TRADING

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनको व्यवस्थापनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयका अनुसार सो रकममध्ये हालसम्म ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।
मन्त्रालयले निर्वाचन तयारीलाई समयमै, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले चरणबद्ध रूपमा स्रोत सहमति र निकासा प्रक्रिया अघि बढाएको जनाएको छ। निर्वाचनसँग सम्बन्धित विभिन्न निकायलाई आवश्यकताअनुसार बजेट उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ।
निर्वाचन आयोगलाई निर्वाचन व्यवस्थापनका लागि सबैभन्दा बढी स्रोत सहमति दिइएको छ। मन्त्रालयका अनुसार आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ र २० पुसमा १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको थियो। यी दुवै किस्ता गरी हालसम्म आयोगलाई कुल ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रिय अनुसन्धान विभागलाई १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ। यस्तै, नेपाली सेनालाई निर्वाचनसम्बन्धी उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ र निर्वाचन खर्च व्यवस्थापनका लागि २० पुसमा १ अर्ब ९४ करोड रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय तथा मातहतका निकायलाई प्रतिनिधि सभा निर्वाचन व्यवस्थापनका लागि सबैभन्दा ठूलो रकम उपलब्ध गराइएको छ। मन्त्रालयका अनुसार गृह मन्त्रालयतर्फ प्रतिनिधि सभा निर्वाचन खर्चका लागि १० अर्ब ३९ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ।
त्यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलाई ४ करोड ३१ लाख ७९ हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ।
अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति र निकासाको यो प्रक्रिया निर्वाचन तयारीलाई प्रभावकारी बनाउने मात्र नभई सार्वजनिक खर्चको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पनि महत्वपूर्ण हुनेछ। आगामी दिनमा निर्वाचनको प्रगति अनुसार थप निकासा आवश्यक परेमा प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।


