अर्थ मन्त्रालयद्वारा नेप्से पुनर्संरचना प्रतिवेदन कार्यान्वयन अन्तिम चरणमा
Author
NEPSE TRADING

अर्थ मन्त्रालयले नेपालको पूँजीबजारलाई सुदृढ, पारदर्शी र आधुनिक बनाउने उद्देश्यसहित तयार पारिएको ‘नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ कार्यान्वयनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। मन्त्रालयले प्रतिवेदनमा समेटिएका सुझावहरू कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ (सीडीएससी) र नेपाल राष्ट्र बैंकलाई स्पष्ट कार्ययोजनासहित पठाउने तयारी गरेको जनाएको छ। प्रतिवेदनले प्रत्येक निकायको जिम्मेवारी र समयसीमा निर्धारण गर्दै नेप्सेको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने, अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने, ईटीएफ, डेरिभेटिभ्स तथा नयाँ वित्तीय उपकरण सञ्चालन गर्ने, रियल टाइम बजार निगरानी प्रणाली लागू गर्ने तथा प्राविधिक संरचना सुदृढ गर्ने योजना अघि सारेको छ। त्यसैगरी सेबोनले आवश्यक कानुनी तथा नीतिगत सुधार, इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङका लागि नियमावली निर्माण तथा एआई आधारित निगरानी प्रणाली लागू गर्नुपर्नेछ भने सीडीएससीले क्लियरिङ प्रणाली सुधार, सेन्ट्रल काउन्टर पार्टी स्थापना अध्ययन तथा रियल टाइम बैंक–टिएमएस इन्टिग्रेशन सुदृढ गर्ने जिम्मेवारी पाएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली र शेयर बजारबीच वास्तविक समय डेटा आदानप्रदान सहज बनाउने तथा मार्जिन कर्जासम्बन्धी नीति सुधारमा सहकार्य गर्नेछ। समग्र प्रक्रियाको समन्वय र अनुगमन अर्थ मन्त्रालयले गर्नेछ। प्रतिवेदन कार्यान्वयन भएपछि नेपालको धितोपत्र बजार अन्तर्राष्ट्रिय स्तरको, सुरक्षित र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।



