काठमाडौं — फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने प्रक्रियामा अघि बढेका छन्। दुवै संस्थाले साउन २५ गते अपराह्न ५ बजे मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तबीच संस्थागत एकीकरणका लागि प्रारम्भिक सहमति भएको हो।
दुवै संस्थाबीच भएको समझदारीसँगै मर्जर प्रक्रियाले औपचारिक रूप लिएको छ। अब सम्पत्ति तथा दायित्वको मूल्यांकन, सेयर स्वाप अनुपात, संस्थागत संरचना, पुँजी तथा व्यवस्थापनलगायत विषयमा थप अध्ययन र सहमति आवश्यक पर्नेछ।
मर्जर प्रक्रिया पूरा गर्न दुवै संस्थाले नियामकीय प्रक्रिया पूरा गर्नुका साथै आ–आफ्नो साधारणसभाबाट प्रस्ताव अनुमोदन गराउनुपर्नेछ। सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्रै मर्जरले अन्तिम रूप लिनेछ।
मर्जर प्रक्रिया सुरु भएसँगै दुवै संस्थाका आधारभूत सेयरधनीको सेयर कारोबारमा समेत रोक लगाइने भएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ अनुसार त्यस्ता सेयरधनीको कारोबार रोक्का राख्न अनुरोध गरिएको हो।
निर्देशिकाअनुसार मर्जरसम्बन्धी प्रस्ताव साधारणसभाबाट अन्तिम रूपमा पारित नभएसम्म सम्बन्धित संस्थाका संस्थापक तथा आधारभूत सेयरधनीले आफ्नो सेयर खरिदबिक्री गर्न पाउने छैनन्।
यस व्यवस्थाको उद्देश्य मर्जरसम्बन्धी संवेदनशील सूचना सार्वजनिक हुनुअघि वा प्रक्रिया चलिरहेका बेला हुन सक्ने अस्वाभाविक सेयर कारोबारलाई नियन्त्रण गर्नु हो।
मर्जर सम्पन्न भएमा दुवै संस्थाको पुँजीगत आधार, व्यवसायिक पहुँच र संस्थागत क्षमता विस्तार हुने अपेक्षा गर्न सकिन्छ। तर अन्तिम स्वाप अनुपात, मर्जरपछि बन्ने संस्थाको नाम, सञ्चालक समिति तथा व्यवस्थापन संरचनाबारे भने विस्तृत जानकारी सार्वजनिक हुन बाँकी छ।





