·

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने

Author

Dipesh Ghimire

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने

“स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आइतबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ। घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा असोज १३ देखि २३ गतेसम्म चल्ने यस महोत्सवमा काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको प्रदर्शनी हुनेछ।

मेलामा ७० वटा स्टल राखिनेछ जसमा स्थानीय खानाका परिकार, मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य वस्त्र, स्वदेशी जुत्तालगायतका उत्पादनहरूको प्रदर्शनी हुनेछ। साथै, अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम, र खाद्य महोत्सवजस्ता गतिविधिहरूले मेलाको आकर्षण बढाउनेछन्।

घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले मेलाको उद्देश्य स्वदेशी उद्योगका उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्दै बेरोजगारी कम गर्न सहयोग पुर्‍याउनु रहेको बताइन्। संघका सचिव जितेन्द्र कुमार श्रेष्ठले स्वदेशी उत्पादनको प्रतिस्पर्धी बजारमा लागत घटाउन सरकारबाट आवश्यक सहयोगको आवश्यकता रहेको बताए।

मेलाको सफल आयोजनाले स्वदेशी उत्पादनको ब्राण्डिङ गर्न, व्यापारघाटा न्यूनीकरण गर्न, र स्वदेशी रोजगारीका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Related News