काठमाडौं, असोज २८ — गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठक सोमबार (आश्विन २७ गते) दिउँसो ३ः३० बजे सम्पन्न भई सो निर्णय गरेको हो।
बैठकले बैंकको हाल कायम चुक्ता पुँजीबाट ६ प्रतिशत बोनस शेयर र करसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार, शेयरधनीहरूले बोनस र नगद गरी कुल १०.५३ प्रतिशतको लाभांश पाउनेछन्।
बैंकले स्पष्ट पारेको छ कि प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित ६ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्नेछ।
काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयबाट संचालन भइरहेको गरिमा विकास बैंक लिमिटेडले हाल देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएम मार्फत ग्राहकहरूलाई अत्याधुनिक र डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।





