नयाँ बानेश्वरमा जेनजीहरुको उग्र प्रदर्शन, संसद भवनभित्रै प्रवेश
Author
NEPSE TRADING

काठमाडौं । राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आज जेनजी प्रदर्शनकारीले उग्र रूप लिँदै संघीय संसद भवनभित्रै प्रवेश गरेका छन् । संसद् भवनको मुख्य गेट तोडफोड गर्दै भित्र पसेका उनीहरूले ढुंगामुढा समेत गरेका थिए । केहीबेरपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गर्दै प्रदर्शनकारीलाई भवन बाहिर निकाल्न सफल भएको छ ।
यद्यपि, प्रदर्शन भने रोकिएको छैन । कर्फ्यू आदेश जारी भइसके पनि प्रदर्शनकारी सडकमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले संसद भवन वरपरको क्षेत्रमा कर्फ्यू लगाएको छ । संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गर्ने, गेट तोडफोड गर्ने, सुरक्षा बल बसेको पोष्टमा पुगेर नेपालको झण्डा फहराउने जस्ता गतिविधि भएपछि प्रशासनले यस्तो कदम चालेको हो ।
सुरक्षा व्यवस्था कडा पारिए पनि जेनजी प्रदर्शनकारी भने अझै पनि सडकमा सक्रिय छन्, जसका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।