·

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’: २५ अर्बपतिसहित १० हजारभन्दा बढी सहभागी हुने

Author

NEPSE TRADING

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’: २५ अर्बपतिसहित १० हजारभन्दा बढी सहभागी हुने

मंसीर २४, २५ र २६ गते बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको ‘विश्व शान्ति कार्यक्रम’मा विभिन्न देशका २५ अर्बपतिहरू सहभागी हुने भएका छन्। विश्व शान्ति कार्यक्रम प्रतिष्ठानले आयोजना गर्न लागेको तेस्रो संस्करणका कार्यक्रममा यो पहिलोपटक यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय अर्बपति तथा शीर्ष व्यक्तित्वहरूको उपस्थिति रहने भएको हो।

कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार भारत, युरोप, मध्यपूर्व, अफ्रिका लगायतका मुलुकबाट उच्चस्तरीय पाहुनाहरू लुम्बिनी आउँदैछन्। विशेषगरी भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डा. सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई–भारतमा व्यापार विस्तारेका इराम होल्डिङ्सका डा. सिद्दिक अहमदलगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनेछन्।

खतिवडाका अनुसार कार्यक्रममा १० हजारभन्दा धेरै सहभागी रहने अपेक्षा छ। नेपाल तथा विदेशका राजनीतिक नेतृत्व, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक दूत, अन्तर्राष्ट्रिय व्यापारका चिन्तक, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै लुम्बिनीस्थित चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरू पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।

तीन दिनसम्म चल्ने यस कार्यक्रमका प्रमुख विषयहरूमा शान्ति स्थापनाको भूमिका, जलवायु परिवर्तनका चुनौती, विकास र आन्तरिक कल्याण, सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, नेतृत्व कौशल तथा स्थानीय शासनमा युवा, महिला, आदिवासी तथा सीमान्तकृत समुदायहरूको सहभागिता समेटिएको छ। यी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले बहस तथा छलफल चलाउने कार्यक्रम संयोजक शेखर गौतमले जानकारी दिए।

कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत, कलात्मक प्रस्तुति तथा विभिन्न राष्ट्रका सांस्कृतिक पहिचान झल्काउने सत्रहरू पनि समावेश हुने छन्। आयोजकका अनुसार यस कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा शान्ति गन्तव्यका रूपमा प्रवर्द्धन गर्न थप योगदान गर्ने अपेक्षा गरिएको छ।

Related News