अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपालमा सुनचाँदीको मूल्य वृद्धि
Author
NEPSE TRADING

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकै छ। बुधबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ, जसका कारण स्थानीय बजारमा व्यापारिक गतिविधि समेत चहलपहल देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेर रु २,४३,००० पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले वृद्धि भई प्रति तोला रु ३,१८५ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य उकालो नै देखिएको छ। विश्वभरिका सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४,०७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासङ्घको विश्लेषण छ।
सुनचाँदी बजारमा यस्ता उतारचढावलाई विश्व आर्थिक गतिविधि, मुद्रा विनिमय दर, अमेरिका लगायतका प्रमुख अर्थतन्त्रका नीतिगत परिवर्तन तथा भू–राजनीतिक प्रभावले निर्धारण गर्ने विशेषज्ञहरू बताउँछन्।


