नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २०० पुग्यो
Author
NEPSE trading

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाउँदा प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सो दिनको उचाइलाई पार गर्दै मंगलबार सुनको मूल्यले नयाँ उचाइ हासिल गरेको छ।
यसैबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा आएको यो उछालले बजारमा चर्चा बढाएको छ भने लगानीकर्ता र उपभोक्ताहरूको ध्यानाकर्षण गरेको छ।