सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
Author
NEPSE trading

सरकारले बीमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो।
पोखरेल यसअघि दुई वर्ष पहिले विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्। उनी लामो समयदेखि सेयर बजारमा लगानीकर्ताको रूपमा सक्रिय रहँदै आएकी छिन् र हाल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन्।
बीमा ऐन २०७९ मा प्राधिकरणको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ। यो व्यवस्था हालसम्म पूर्ण कार्यान्वयनमा आएको थिएन। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पोखरेललाई नियुक्त गरेसँगै उक्त ऐनले पूर्णता पाएको छ।
ऐनअनुसार बीमा प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित पाँच जना सदस्य रहनेछन्। जसमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयका सहसचिवले सञ्चालकको रूपमा प्रतिनिधित्व गर्नेछन्। साथै, जीवन बीमा र निर्जीवन बीमा क्षेत्रबाट एक/एक जना गरी दुई जना सञ्चालक नियुक्त हुनुपर्ने व्यवस्था छ। पाँच सदस्यीय बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य रहनुपर्ने प्रावधानअनुसार पोखरेलको नियुक्तिले यो मापदण्ड पूरा भएको छ।
पोखरेलको नियुक्तिलाई बीमा क्षेत्रमा लैंगिक समावेशिता र ऐनको कार्यान्वयनको दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।