
उत्पादन, रोजगारी र डिजिटल अर्थतन्त्रमा सरकारको जोडGovernment Prioritizes Production, Jobs and Digital Economy in Upcoming Budget
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई आर्थिक पुनःसंरचना, सुशासन र उत्पादनमुखी अर्थतन्त्रतर्फ केन्द्रित गर्ने संकेत दिएको छ । राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्दै आगामी बजेट “रोजगारी, उत्पादन र सुशासन” मा आधारित हुने बताएका हुन् ।
राष्ट्रियसभामा प्रस्तुत ४० बुँदे प्राथमिकतामा सरकारले आर्थिक गतिविधि चलायमान बनाउने, निजी क्षेत्रको आत्मविश्वास फर्काउने, डिजिटल शासन विस्तार गर्ने तथा सामाजिक सुरक्षालाई पुनःसंरचना गर्ने लक्ष्य अघि सारेको छ । मन्त्री वाग्लेले अहिलेको बजेट केवल खर्च बाँडफाँटको दस्तावेज नभई आर्थिक संरचना परिवर्तन गर्ने माध्यमका रूपमा तयार गरिने बताएका छन् ।
उनले सरकारले “थिति बसाल्ने” अभियानअन्तर्गत प्रशासनिक सुधार, कानुनी पुनरावलोकन र डिजिटल सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताए । सार्वजनिक सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अनावश्यक मध्यस्थताको अन्त्य गर्न “एकद्वार, समयबद्ध र डिजिटल” प्रशासनिक प्रणाली लागू गरिने उनको भनाइ छ ।
सरकारले आगामी बजेटमार्फत उपभोगमुखी अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी संरचनामा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वाग्लेले कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि र सेवा क्षेत्रलाई आर्थिक वृद्धिका मुख्य संवाहकका रूपमा अघि बढाइने बताएका छन् । निजी क्षेत्रको मनोबल कमजोर भएको स्वीकार गर्दै उनले व्यवसायमा रहेका संरचनागत अवरोध हटाउने र लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाए ।
कर प्रणालीलाई सरल र न्यायोचित बनाउने, कार्टेलिङ तथा एकाधिकार नियन्त्रण गर्ने र उत्पादन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति बजेटको केन्द्रमा रहने उनको भनाइ छ । सरकारले डिजिटल अर्थतन्त्र, सेवा निर्यात, स्वच्छ ऊर्जा र उच्च मूल्य अभिवृद्धियुक्त कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा अघि सार्ने संकेत पनि दिएको छ ।
कृषि क्षेत्रलाई सरकारले आगामी बजेटको मुख्य प्राथमिकतामध्ये एक बनाएको छ । कृषिलाई केवल जीविकोपार्जनको माध्यम नभई रोजगारी, खाद्य सुरक्षा र आयात प्रतिस्थापनको आधारका रूपमा विकास गर्ने सरकारको योजना छ । किसानलाई बजार, प्रविधि, बीमा, प्रशोधन र मूल्य सुनिश्चिततासँग जोड्ने गरी “व्यावसायिक कृषि मोडल” अघि सारिएको छ ।
ऊर्जा क्षेत्रलाई पनि सरकारले आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ । निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण लाइन र वितरण प्रणालीलाई तीव्रता दिने तथा ऊर्जा खपत बढाउने नीति लिइने भएको छ । ऊर्जा–आधारित उद्योग, हरित हाइड्रोजन र स्वच्छ औद्योगिक प्रविधिमा निजी लगानी आकर्षित गर्ने विषयलाई समेत सरकारले प्राथमिकतामा राखेको छ ।
सूचना प्रविधि र डिजिटल सेवामा सरकारको विशेष जोड देखिएको छ । अर्थमन्त्री वाग्लेले नेपाललाई “तौलरहित उच्च मूल्य सिर्जना गर्ने अर्थतन्त्र” मा रूपान्तरण गर्ने लक्ष्यसहित सफ्टवेयर, डेटा सेन्टर, क्लाउड सेवा, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षासम्बन्धी उद्योगलाई प्रोत्साहन गरिने बताएका छन् । डिजिटल नोम्याड, रिमोट वर्क र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीलाई कानुनी मान्यता दिने संकेतसमेत सरकारले गरेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि आगामी बजेटमा पुनःसंरचना गर्ने योजना प्रस्तुत गरिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाउने, शिक्षा प्रणालीलाई श्रम बजारसँग जोड्ने तथा अनुसन्धान र नवप्रवर्तनमा आधारित विश्वविद्यालय प्रणाली विकास गर्ने नीति अघि सारिएको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बीमा प्रणाली पुनःसंरचना, आधारभूत अस्पताल विस्तार र टेलिहेल्थ सेवामा जोड दिइने सरकारको भनाइ छ ।
युवालाई केन्द्रमा राखेर स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने योजना पनि सरकारले अघि सारेको छ । “कमाउँदै सिक्दै” अवधारणामा आधारित अप्रेन्टिस कार्यक्रम सञ्चालन गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतासँग जोड्ने नीति लिइने भएको छ ।
सरकारले आगामी बजेटमा ठूला पूर्वाधार आयोजनालाई पनि प्राथमिकतामा राखेको छ । काठमाडौं–तराई मधेश द्रुतमार्ग, उत्तर–दक्षिण करिडोर, हुलाकी राजमार्ग, सुरुङमार्ग तथा फ्लाइओभरजस्ता रणनीतिक परियोजनालाई तीव्रता दिने उल्लेख गरिएको छ ।
पर्यटन क्षेत्रतर्फ सरकारले लुम्बिनी–बौद्ध, जनकपुर–रामायण तथा हिमाली पर्यटन सर्किट विकास गर्ने योजना सार्वजनिक गरेको छ । नेपाललाई सुरक्षित क्षेत्रीय पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित विमानस्थल सञ्चालन, हवाई सुरक्षा र नेपाल वायु सेवा निगमको पुनःसंरचनालाई पनि प्राथमिकतामा राखिएको छ ।
अर्थमन्त्री वाग्लेले आगामी बजेटले सुशासन, डिजिटल रूपान्तरण, रोजगारी र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापनालाई केन्द्रमा राख्ने बताएका छन् । तर सरकारले प्रस्तुत गरेका महत्वाकांक्षी योजनालाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न भने अझै खुला रहेको विश्लेषकहरूको भनाइ छ । विगतमा पनि सुधारका धेरै घोषणा भए पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित परिणाम आउन नसकेको अनुभवले यसपटक सरकारमाथि परिणाम देखाउने दबाब थपिएको छ ।
Swarnim Wagle Unveils Fiscal Priorities for 2026/27
Structural Reform and Governance Improvement Placed at the Center of Budget Strategy
The government has signaled that Nepal’s upcoming fiscal budget for 2026/27 will focus heavily on economic restructuring, governance reform and production-oriented growth. Following the endorsement of the government’s policy and program by the National Assembly, Finance Minister Swarnim Wagle on Thursday presented the principles and priorities of the Appropriation Bill, outlining a broad reform agenda centered on employment generation, digital transformation and economic revitalization.
Presenting a 40-point framework before the National Assembly, Wagle said the upcoming budget would not merely be a document of expenditure allocation, but a roadmap aimed at restructuring Nepal’s economy. According to him, the government’s priorities include reviving economic activity, restoring private sector confidence, strengthening social protection systems and expanding digital governance.
The finance minister emphasized that the government’s “system reform” campaign would focus on administrative modernization, legal reform and technology-driven public service delivery. He said the government plans to introduce a “single-window, time-bound and digital” administrative system aimed at reducing delays, bureaucratic hurdles and unnecessary middlemen in public services.
The government has also indicated that the upcoming budget will seek to transform Nepal’s consumption-driven economy into one based on investment and production. Wagle stated that agriculture, energy, tourism, information technology and the service sector would be promoted as the primary engines of economic growth. Acknowledging weak business confidence in recent years, he pledged to remove structural barriers affecting private enterprises and create a more investment-friendly environment.
Simplifying the tax system, discouraging cartel practices and monopolistic behavior and promoting production and innovation are expected to become central components of the new fiscal policy. The government has further signaled plans to strengthen the digital economy, service exports, clean energy and high-value agriculture as key pillars of long-term economic transformation.
Agriculture has emerged as one of the government’s major focus areas. Rather than treating agriculture solely as a subsistence sector, the government aims to position it as a driver of employment, food security and import substitution. The proposed policy framework seeks to connect farmers with markets, technology, insurance systems, processing industries and price support mechanisms through a more commercialized agricultural model.
The energy sector is also being presented as a key foundation for Nepal’s future economic transformation. The government plans to accelerate under-construction hydropower projects, transmission lines and electricity distribution systems while also encouraging greater domestic energy consumption. Investment in energy-based industries, green hydrogen and clean industrial technologies is expected to receive policy support under the new budget.
Information technology and digital services appear to be among the strongest priorities of the upcoming fiscal plan. Wagle stated that Nepal aims to transform itself into a “weightless high-value economy” by promoting software development, cloud services, data centers, artificial intelligence and cybersecurity industries. The government has also signaled legal recognition for remote work, digital nomads and international digital payment systems as part of efforts to position Nepal as a regional technology hub.
The government has additionally proposed reforms in education and healthcare. The upcoming budget is expected to increase state investment in technical and vocational education while restructuring the education system to better align with labor market demands. Plans have also been announced to promote research-driven universities and innovation-based higher education systems. In healthcare, the government intends to restructure the health insurance system, strengthen basic hospital services and expand telehealth infrastructure.
Youth-focused policies have also been highlighted. The government plans to promote startups, entrepreneurship and innovation while launching apprenticeship-based employment programs under a “learn while earning” model. Special programs targeting migrant workers returning from foreign employment are also expected to be introduced to encourage entrepreneurship and reintegration into the domestic economy.
Large infrastructure projects remain another key priority. The government has pledged to accelerate strategic projects including the Kathmandu-Tarai Fast Track, north-south economic corridors, postal highways, tunnels and urban flyovers. Tourism infrastructure development has also been prioritized through proposed Buddhist, Ramayana and Himalayan tourism circuits.
The government further stated that Nepal would seek to strengthen its international presence through economic diplomacy, investment promotion and technology partnerships. Policies aimed at attracting diaspora investment and integrating non-resident Nepali expertise into national development plans are also expected to be included in the budget framework.
While the government has outlined an ambitious reform-oriented agenda, analysts say the key challenge will remain implementation. Nepal has announced several structural reform programs in the past, but weak execution has often limited their impact. As a result, pressure is growing on the government not only to announce bold policies, but also to demonstrate visible results through effective implementation.




