काठमाडौं — आगामी तीन दिनसम्म देशका तराई भू-भागमा तातो हावाको लहर (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहर देखिने अनुमान गरिएको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा असामान्य रूपमा गर्मी दिन हुने प्रक्षेपण विभागले गरेको छ। यी क्षेत्रहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने विभागको भनाइ छ।
अत्यधिक गर्मीका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने भएकाले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, नवलपरासी (पूर्व तथा पश्चिम), झापा, मोरङ, सुनसरी, चितवन, कैलाली र कञ्चनपुर गरी १६ जिल्लालाई अति संवेदनशील सूचीमा राखेको छ।
तातो लहरका कारण शरीरको तापक्रम अत्यधिक बढ्ने, थकाइ र कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने र बेहोस हुनेलगायत गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन्। यसका अतिरिक्त मांसपेशी दुखाइ, बान्ता र झाडापखाला पनि देखा पर्न सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तातो लहरबाट बच्न दिउँसोको समयमा घरबाहिर ननिस्कन र आवश्यक परेमा छाता वा पातलो कपडाले टाउको छोप्न सुझाव दिएको छ। यसका साथै शीतल र खुकुलो सुती कपडा लगाउने, पर्याप्त पानी, कागती पानी र ताजा फलफूल सेवन गर्ने तथा चिया-कफीजस्ता तातो पेय पदार्थबाट टाढा रहन भनिएको छ।
खेत र निर्माण क्षेत्रमा काम गर्नेहरूले दिउँसोको गर्मी समयमा काम नगरी बिहान वा साँझ मात्र परिश्रम गर्न प्राधिकरणले अनुरोध गरेको छ। बालबालिकालाई कडा घाममा खेल्न नदिन र ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूले स्वास्थ्यप्रति विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पताल जान प्राधिकरणले आग्रह गरेको छ।



