·

ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोल

Author

NEPSE trading

ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोल

पछिल्लो समय बैंकहरूमा प्रशस्त तरलता रहेकाले सरकारले जारी गर्ने ट्रेजरी बिल खरिदमा उच्च प्रतिस्पर्धा देखिएको छ। कर्जा लगानी गर्न नसकेपछि बैंकहरूले आन्तरिक ऋण उठाउन जारी गरिएको ट्रेजरी बिलमा लगानी बढाएका छन्, जसले डिस्काउन्ट रेट घटेर ३ प्रतिशतभन्दा तल झरेको छ।

यसैक्रममा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज चैत ४ गते सोमबार १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्दैछ। कार्यालयका अनुसार ९१ दिने अवधिको ५ अर्ब, १८२ दिने अवधिको ४ अर्ब ३० करोड र ३६४ दिने अवधिको ९ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ। यो बोलकबोल सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनमार्फत हुनेछ भने मंगलबार निष्कासन गरिनेछ।

पछिल्लो समय ट्रेजरी बिलमा मागभन्दा तीन गुणासम्म आवेदन परेको छ। गत फागुन २६ मा भएको बोलकबोलमा २८ दिने ५ अर्बको ट्रेजरी बिलका लागि १८ अर्ब ६३ करोड, ९१ दिने ८ अर्ब ५० करोडका लागि २३ अर्ब ६३ करोड २५ लाख र ३६४ दिने ५ अर्बका लागि २१ अर्बको बोल परेको थियो। यीको औसत डिस्काउन्ट रेट क्रमशः २.९८%, २.९६% र ३.०३% कायम भएको थियो।

बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएर अन्य क्षेत्रमा कर्जा विस्तार हुन नसक्दा ट्रेजरी बिलमा लगानी बढेको हो। यसले अल्पकालीन ब्याजदरमा समेत कमी आएको छ।

ट्रेजरी बिल के हो?
ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको सरकारी अल्पकालीन ऋणपत्र हो। यो २८, ९१, १८२ र ३६४ दिने अवधिमा जारी हुन्छ। बोलकबोलमार्फत निष्कासन हुने यो ऋणपत्रमा डिस्काउन्ट रेट लागू हुन्छ, जुन बोलकबोलबाट निर्धारण हुन्छ। क, ख, ग वर्गका बैंक, वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले यसमा सहभागिता जनाउन सक्छन्।

Related News