होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि खुल्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर
Author
NEPSE TRADING

होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सो मध्ये १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशन प्रयोजनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी माइनस (IRN BB-) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको होटल आयोजना सम्पन्न गर्न कुल ३ अर्ब ४८ करोड २१ लाख रुपैयाँभन्दा बढी लागत लागेको छ। उक्त आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।



