·

बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक दिन सहमति

Author

Marketminds Investment Group

बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक दिन सहमति

बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटलको पुनर्निर्माण अवधिभर श्रमिकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। जेन जेनेरेशन (Gen Z) आन्दोलनका क्रममा भदौ २४ गते होटलमा भएको तोडफोड, आगजनी र लुटपाटपछि होटल सञ्चालन बन्द भएको थियो।

होटल व्यवस्थापनका अनुसार ठूलो आर्थिक तथा भौतिक क्षति पुगेकोले होटल पूर्ण रूपमा मर्मत–सम्भार नगरी सञ्चालन असम्भव छ। पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने अनुमान गर्दै कर्मचारी प्रतिनिधिसँग छलफल गरी सो अवधिभर नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत तलब दिने सहमति गरिएको हो। साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गरिने छ।

होटल बन्द भए पनि कर्मचारीको रोजीरोटी सुरक्षित रहोस् भन्ने उद्देश्यले सहमति गरिएको व्यवस्थापनले जनाएको छ। मर्मत कार्य सकिएपछि सहमतिमा रहेका कर्मचारीलाई पुनः रोजगारीमा फर्काइनेछ। व्यवस्थापनका अनुसार अधिकांश कर्मचारी सहमतिमा सकारात्मक छन्।

तर सहमतिमा नआउने कर्मचारीका लागि भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले जानकारी दिएको छ।

Related News