आइसीएफसी फाइनान्स लिमिटेडको ३० करोड रुपैयाँको ऋणपत्र बिक्री आज अन्तिम दिन
Author
Nepse trading
आइसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न थालेको छ, र आज आवेदन दिने अन्तिम दिन हो। कम्पनीले १ हजार रुपैयाँ दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो, जसको कुल मूल्य ३० करोड रुपैयाँ छ। यस ऋणपत्रको १ लाख ८० हजार इकाई व्यक्तिगत रूपमा विभिन्न संघसंस्थालाई बिक्री गरिनेछ भने बाँकी १ लाख २० हजार इकाई सर्वसाधारणलाई प्रदान गरिनेछ। सर्वसाधारणका लागि ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
आइसीएफसीले ७ वर्षको अवधिमा ९ प्रतिशत ब्याजदर दिने ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो, जसको ब्याज रकम प्रत्येक अर्धवार्षिक अवधि पछि कर कट्टासहित भुक्तानी गरिनेछ। ऋणपत्रको आवेदन प्रक्रिया सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनमार्फत गर्न सकिन्छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई 'केयर एनपी त्रिपल बी माइनस' रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्नेमा मध्यम जोखिम रहेको जनाउँछ।