·

नेपालका लागि आईएमएफको विस्तारित कर्जा सुविधा (ECF) चार महिना थप, अन्तिम समीक्षा सम्पन्न गर्न थपिएको समय

Author

NEPSE TRADING

नेपालका लागि आईएमएफको विस्तारित कर्जा सुविधा (ECF) चार महिना थप, अन्तिम समीक्षा सम्पन्न गर्न थपिएको समय

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा सञ्चालन भइरहेको विस्तारित कर्जा सुविधा (Extended Credit Facility–ECF) कार्यक्रमको अवधि चार महिना थप गर्ने निर्णय गरेको छ। अब यो कार्यक्रम २०२६ मे ११ सम्म रहनेछ।

१ डिसेम्बर (मंसिर १५) मा बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले नेपाल सरकारको अनुरोध स्वीकृत गर्दै कार्यक्रमको म्याद चार महिना लम्ब्याउने निर्णय गरेको हो। आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि ईसीएफको सातौँ र अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउन कार्यक्रमको अवधि थपिएको हो।

नेपालले सन् २०२२ जनवरी १२ मा आईएमएफबाट ३८ महिनाको ECF कार्यक्रम स्वीकृत गराएको थियो। उक्त कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख एसडीआर (करिब ३९ करोड ५९ लाख अमेरिकी डलर, हालको विनिमयदरअनुसार करिब ५७ अर्ब रुपैयाँ) बराबरको ऋण पाउने व्यवस्था भएको थियो। हालसम्मको ऋणमध्ये अन्तिम किस्ता अझै प्राप्त हुन बाँकी छ।

यसअघि १ मे २०२३ मा आईएमएफ कार्यकारी बोर्डले कार्यक्रमलाई २०२६ जनवरी ११ सम्म लम्ब्याउने निर्णय गरेको थियो। कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्रमा पर्न गएको गम्भीर असर, वित्तीय स्थिरता सुनिश्चित गर्ने आवश्यकता र गरिब तथा जोखिममा रहेका जनताको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम निरन्तरता दिइएको थियो।

कार्यक्रम अन्तिम चरणमा पुगेसँगै हालै आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनको नेतृत्वमा उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो। भ्रमणका क्रममा टोलीले नेपालका आर्थिक सूचक, सुधारको अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरेको बताइएको छ।

Related News