काठमाडौँ — इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ४५) राष्ट्रिय कर दिवस २०८३ को अवसरमा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ५० करोड रुपैयाँसम्मको वार्षिक कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरेको भन्दै आन्तरिक राजस्व कार्यालयले संस्थालाई राष्ट्रिय स्तरको सम्मान प्रदान गरेको हो।
मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख सञ्चालन अधिकृत सीताराम अधिकारीलाई सम्मानपत्र हस्तान्तरण गरे। समारोहमा विभिन्न १९ विधामा उत्कृष्ट कर दाखिला गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।
व्यावसायिक निष्ठा, वित्तीय अनुशासन र लगानीकर्ताको निरन्तर विश्वासका कारण यो उपलब्धि हासिल भएको कम्पनीले जनाएको छ। वि.सं. २०६८ देखि धितोपत्र दलाल सेवा दिँदै आएको इम्पेरियलले पछिल्लो समय लगानीकर्तालाई वार्षिक ६.९५ देखि ७.९५ प्रतिशतसम्मको ब्याजदरमा मार्जिन कारोबार कर्जा सुविधासमेत उपलब्ध गराउँदै आएको छ।
काठमाडौँको अनामनगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले भक्तपुर, धादिङ, पोखरा, नेपालगञ्ज र सुर्खेतस्थित शाखा कार्यालय तथा अनलाइन प्रणालीमार्फत स्वदेश तथा विदेशमा रहेका लगानीकर्तालाई सेवा दिइरहेको छ।




