अन्तर्राष्ट्रिय धितोपत्र नियामक संस्था IOSCO (International Organization of Securities Commissions) को World Investor Week 2026 को अवसरमा इम्पेरियल सेक्युरिटिज प्रा.लि. (Broker No. 45) को आयोजनामा लगानीकर्ता सचेतना तथा वित्तीय शिक्षा सम्बन्धी कार्यक्रम कोटेश्वर बहुमुखी क्याम्पस, जडिबुटी, काठमाडौंमा सम्पन्न भएको छ।
“Invest in Your Future, Protect Your Today” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै लगानी, वित्तीय सचेतना, शेयर बजार तथा सुरक्षित लगानीका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री डा. प्रकाश पोखरेल रहनुभएको थियो। उहाँले युवापुस्तामा वित्तीय ज्ञान तथा लगानीसम्बन्धी सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउँदै विद्यार्थीहरूले आफ्नो भविष्य सुरक्षित बनाउन वित्तीय ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रा.लि.का Founder/Director तथा Telia Investment Pvt. Ltd. का CEO तथा Founder Samir Jung ... लगायतको सहभागिता रहेको थियो। वक्ताहरूले युवा तथा विद्यार्थीलाई शेयर बजारमा लगानीका अवसरसँगै यस क्षेत्रमा रहेका जोखिम र चुनौतीबारे समेत जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा Technical तथा Fundamental Analysis, कम्पनीको वित्तीय अवस्था अध्ययन, जोखिम व्यवस्थापन तथा दीर्घकालीन लगानी रणनीतिलगायतका विषयमा समेत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई हल्ला, अफवाह वा भावनात्मक निर्णयका आधारमा नभई आवश्यक अध्ययन, अनुसन्धान र विश्लेषणपछि मात्र लगानी गर्न सुझाव दिइएको थियो।
आयोजकका अनुसार कार्यक्रममा करिब ६२ जना युवा तथा विद्यार्थी सहभागी भएका थिए। कार्यक्रमले युवा पुस्तामा पूँजी बजार तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै सचेत, सुरक्षित र जिम्मेवार लगानी संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
IOSCO World Investor Week विश्वभर लगानीकर्ता शिक्षा, संरक्षण तथा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय अभियान हो। नेपालमा पनि यस्ता कार्यक्रममार्फत नयाँ तथा सम्भावित लगानीकर्तालाई पूँजी बजारबारे आवश्यक ज्ञान प्रदान गर्दै सुरक्षित, सूचित र जिम्मेवार लगानीतर्फ प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।





