इम्पेरियल सेक्युरिटिजले राष्ट्रिय महिला भलिबल टिमलाई जर्सी प्रायोजन गर्ने
Author
NEPSE TRADING

इम्पेरियल सेक्युरिटिजले नेपाली राष्ट्रिय महिला भलिबल टिम (सिनियर र जुनियर) का लागि जर्सी प्रायोजन गर्ने भएको छ। शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच दुई वर्षको प्रायोजन सम्झौता भएको हो।
सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका तर्फबाट भक्तिराम घिमिरेले हस्ताक्षर गरे। सम्झौताअनुसार इम्पेरियल सेक्युरिटिजले नेपाली महिला राष्ट्रिय टिमका सिनियर तथा जुनियर दुवै समूहका खेलाडीले लगाउने जर्सीमा प्रायोजन गर्नेछ।
दुई वर्षका लागि वार्षिक २० लाख रुपैयाँका दरले गरी ४० लाख रुपैयाँको प्रायोजन सम्झौता गरिएको छ। साथै, प्रत्येक वर्षको उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँको नगद पुरस्कार पनि इम्पेरियल सेक्युरिटिजले प्रदान गर्नेछ।
नेपाल भलिबल संघले यसअघि राष्ट्रिय महिला भलिबल टिमको लागि जर्सी प्रायोजनको आह्वान गरेको थियो, जसमा इम्पेरियल सेक्युरिटिजले सहयोगका हात अघि बढाएको हो। कार्यक्रममा महिला टिमले लगाउने सेतो र निलो रंगका दुई नयाँ जर्सी सार्वजनिक गरिएका छन्, जसले राष्ट्रिय पहिचान झल्काउने बताइएको छ।
यो प्रायोजन सम्झौताले नेपाली महिला भलिबल खेलको विकास, प्रोत्साहन र खेलाडीको मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।