नेपाली शेयर बजार बुधबार पनि दबाबमै बन्द भएको छ । लगातार दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द हुँदा बजारमा देखिएको अन्योलता अझै गहिरिएको विश्लेषण गरिएको छ । पछिल्ला केही सातायता बजारले स्पष्ट दिशा समात्न नसकिरहेको अवस्थामा कारोबार रकम निरन्तर घट्नु, लगानीकर्ताको मनोबल कमजोर देखिनु तथा सीमित कम्पनीमा मात्रै कारोबार केन्द्रित हुनुले बजार अझै ‘कन्फ्युजन फेज’ मा रहेको संकेत गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा बन्द भयो । अंकका आधारमा गिरावट ठूलो नदेखिए पनि कारोबार रकममा आएको तीव्र कमीले बजारको वास्तविक अवस्था झनै कमजोर देखाएको विश्लेषकहरू बताउँछन् । अघिल्लो कारोबार दिन ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर २ अर्ब ८० करोड रुपैयाँमा सीमित भयो ।
यसदिन ३३९ कम्पनीको ५६ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४२ हजारभन्दा बढी कारोबार भएका थिए । बजारमा सामान्य उतारचढाव देखिए पनि अन्तिम समयमा सूचकले उल्लेख्य सुधार गर्न नसक्दा लगानीकर्ता अझै विश्वस्त हुन नसकेको देखिएको छ ।
विश्लेषकहरूका अनुसार बजार अहिले स्पष्ट ट्रेन्डविहीन अवस्थामा पुगेको छ । केही समयअघि बजारमा देखिएको तीव्र उत्साह विस्तारै सेलाउँदै गएको छ भने छोटो अवधिमा नाफा कमाएका लगानीकर्ताले ‘प्रोफिट बुकिङ’ सुरु गरेका छन् । त्यसको प्रभाव कारोबार रकममा प्रत्यक्ष देखिन थालेको छ । बजारमा नयाँ पैसा प्रवेश गर्ने गति सुस्त हुँदा केही सीमित समूहले मात्र निश्चित कम्पनीमा कारोबार गरिरहेको अवस्था देखिएको छ ।
बजार समग्र रूपमा कमजोर देखिए पनि केही कम्पनीमा भने उल्लेख्य वृद्धि देखियो । एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.४२ प्रतिशतले बढ्यो । त्यस्तै एसवाई प्यानल नेपालको शेयरमूल्य पनि साढे ४ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । तर अधिकांश कम्पनीमा भने सामान्य गिरावट देखिएको थियो । खरिदकर्ता कमजोर बन्दै जाँदा साना तथा मध्यम समूहका धेरै कम्पनी दबाबमा परेको विश्लेषण गरिएको छ ।
अर्कोतर्फ धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.१७ प्रतिशतले घट्यो । झापा इनर्जीको शेयरमूल्य पनि करिब साढे ९ प्रतिशतले ओरालो लाग्यो । पछिल्लो समय तीव्र रूपमा बढेका केही कम्पनीमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि ती कम्पनीमा उच्च गिरावट देखिएको बजार विश्लेषकहरूको भनाइ छ ।
कारोबार रकमका आधारमा भने एसवाई प्यानल नेपाल अग्रस्थानमा रह्यो । कम्पनीको २७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । त्यस्तै रिडी पावर कम्पनी र साहस उर्जामा पनि उल्लेख्य कारोबार देखिएको छ । बजार समग्र रूपमा कमजोर भए पनि केही ‘स्टक स्पेसिफिक’ गतिविधि अझै सक्रिय रहेको यसले देखाएको विश्लेषण गरिएको छ ।
उपसमूहतर्फ हेर्दा १३ मध्ये ११ उपसमूह राताम्मे भए । व्यापार उपसमूह भने सर्वाधिक १.५० प्रतिशतले बढ्यो भने उत्पादन तथा प्रशोधन समूह सामान्य हरियो रह्यो । बैंकिङ, विकास बैंक, जलविद्युत, बीमा, लघुवित्तलगायत अधिकांश समूह दबाबमा देखिएका छन् । यसले बजारमा व्यापक खरिदभन्दा पनि सीमित क्षेत्रीय गतिविधि मात्रै सक्रिय रहेको संकेत गरेको छ ।
अब लागौं प्राविधिक विश्लेषणतर्फ। बुधबार बनेको डे चार्टले पनि बजारमा तत्काल बलियो सुधारको संकेत दिएको छैन । लगातार दोस्रो दिन दबाबमा बन्द भएको बजारले लगानीकर्तालाई स्पष्ट दिशा दिन सकेन । कारोबार रकम तीव्र रूपमा घटेको अवस्थामा नेप्से परिसूचक २७३९ विन्दु आसपास बन्द हुँदा बजार अझै ‘वेट एन्ड वाच’ अवस्थामै रहेको प्राविधिक विश्लेषकहरूको भनाइ छ ।
आज बनेको डे क्याण्डललाई प्राविधिक रूपमा हेर्दा यो “बेयरिस स्मल बडी क्याण्डल” को रूपमा देखिएको छ । दिनको सुरुवातमा बजार माथि जाने प्रयासमा देखिए पनि माथिल्लो क्षेत्रमा बिक्री दबाब हाबी भएपछि सूचक फेरि तल झरेको देखिन्छ । क्याण्डलको माथिल्लो भागमा बनेको विकले माथिल्लो क्षेत्रमा अझै पनि सप्लाई बलियो रहेको संकेत गरेको छ । यद्यपि तल्लो भागमा ठूलो विक नबन्नुले तत्काल ठूलो प्यानिक सेलिङ भने नरहेको बुझिन्छ ।

चार्टमा देखिएको संरचनाअनुसार बजार अहिले पनि “लोअर हाई” बनाउने क्रममा देखिएको छ । यसअघि बनेको उच्च विन्दु नजिक पुग्न नसक्दै बजार फेरि कमजोर बनेको छ । विशेषगरी २८७९ देखि २९११ को क्षेत्रलाई चार्टमा बलियो रेजिस्टेन्सको रूपमा देखाइएको छ । बजारले पछिल्ला प्रयासहरूमा यो क्षेत्र तोड्न नसक्दा छोटो अवधिको ट्रेन्ड अझै दबाबमै रहेको संकेत मिलेको छ ।
यद्यपि सकारात्मक पक्ष पूर्ण रूपमा समाप्त भइसकेको अवस्था भने छैन । चार्टमा देखिएको मुख्य ट्रेन्डलाइन अझै पूर्ण रूपमा ब्रेक भएको छैन । बजार अहिले २६७७ विन्दु आसपासको सपोर्ट जोनभन्दा माथि टिकिरहेको छ, जुन छोटो अवधिका लागि महत्वपूर्ण आधार क्षेत्र मानिएको छ । यदि बजारले यो क्षेत्र जोगाउन सफल भयो भने फेरि माथिल्लो उछालको सम्भावना कायम रहन सक्ने विश्लेषण गरिएको छ ।
चार्टमा प्रयोग गरिएको “एचएच, एचएल र एलएच” संरचनाले बजारमा अहिले स्पष्ट दिशाहीनता देखाएको छ । केही समयअघि बजारले “हायर हाई” र “हायर लो” बनाउँदै सुधारको संकेत दिएको थियो । तर पछिल्लो चरणमा फेरि “लोअर हाई” बन्न थालेपछि खरिदकर्ता कमजोर हुँदै गएको बुझिन्छ । यसले बजारमा ठूलो पैसा अझै पूर्ण रूपमा प्रवेश नगरेको संकेत पनि दिएको छ ।
त्यस्तै चार्टमा देखिएको “चोच” अर्थात् “चेंज अफ क्यारेक्टर” संकेतले बजारको गति पटक–पटक परिवर्तन भइरहेको देखाएको छ । केही समयअघि बनेको बुलिस संरचना अहिले कमजोर बन्दै गएको छ । विशेषगरी कारोबार रकम लगातार घट्नुले बजारमा विश्वास कमजोर भएको पुष्टि गरेको विश्लेषण गरिएको छ ।
भोलिका कारोबारका लागि २६७७ विन्दु निकै महत्वपूर्ण देखिएको छ । यदि बजार यो क्षेत्रभन्दा तल झर्यो भने २६०८ र त्यसपछि २५६८ विन्दुसम्म दबाब बढ्न सक्ने सम्भावना देखिन्छ । अर्कोतर्फ बजारले पुनः सुधारका लागि २७८८ विन्दुभन्दा माथि बलियो क्लोजिङ दिनुपर्ने देखिन्छ । त्योभन्दा माथि गए मात्रै २८७९ र २९११ को रेजिस्टेन्स क्षेत्रमा पुनः परीक्षण हुने सम्भावना रहने विश्लेषण गरिएको छ ।
समग्रमा हेर्दा आजको बजार र प्राविधिक चार्ट दुवैले एउटै संकेत गरेका छन्—बजार तत्काल ठूलो दुर्घटनातर्फ गएको होइन, तर कमजोर हुँदै स्थिर रहने चरणमा पुगेको छ । कारोबार रकम घट्नु, माथिल्लो क्षेत्रमा बिक्री दबाब बढ्नु र सूचकले लगातार लोअर हाई बनाउनु छोटो अवधिका लागि सावधानीको संकेत भए पनि मुख्य सपोर्ट अझै सुरक्षित रहेकाले बजार पूर्ण रूपमा नकारात्मक भइसकेको निष्कर्ष निकाल्न भने हतार हुने अवस्था नरहेको विश्लेषकहरू बताउँछन् ।








