काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले नेपालमा लगानी वातावरण अझै अपेक्षित रूपमा सहज हुन नसकेको बताएका छन्। अत्यधिक नियमन, अस्थिर नीतिगत अवस्था र कार्यान्वयनको कमजोरीले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको उनको भनाइ छ।
महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै उनले आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अनिवार्य रहेको औंल्याए। लगानी प्रवर्द्धन गर्न नीतिगत स्पष्टता, स्थायित्व र व्यवहारिक सुधार आवश्यक रहेको उनले जोड दिए।
ढकालले स्थिर नीति, सहज नियमन र सुरक्षित लगानी वातावरणबिना दीर्घकालीन आर्थिक वृद्धि सम्भव नहुने उल्लेख गरे। पछिल्लो समय निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षणसम्बन्धी रणनीति पारित हुनु सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए।
उनका अनुसार नेपालसँग युवा जनशक्ति, भौगोलिक विविधता र छिमेकी मुलुकहरूको विशाल बजार पहुँचजस्ता महत्वपूर्ण अवसर छन्। तर, सही नीतिगत वातावरण अभावका कारण ती सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न नसकिएको उनको भनाइ थियो। “नीति स्थिर र लगानीमैत्री वातावरण बनेमा नेपालले तीव्र आर्थिक रूपान्तरण हासिल गर्न सक्छ,” उनले भने।
ढकालले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेख गर्दै अहिले पनि करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रबाटै सृजना भइरहेको बताए। तर, प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ युवालाई स्वदेशमै अवसर दिन अझ धेरै लगानी आवश्यक रहेको उनको धारणा छ।
उनले विगतका नीतिगत निर्णय र अस्थिरताले आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै अबको चरणमा कानुनी सुधार, सुशासन र प्रविधिको प्रयोगमार्फत अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताए। “नागरिकलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउनुपर्छ,” उनले भने।





