·

कमलपोखरीमा लगानीकर्ताको तनावग्रस्त भेला, नियामक नीतिमा तीव्र असन्तुष्टि

Author

NEPSE TRADING

कमलपोखरीमा लगानीकर्ताको तनावग्रस्त भेला, नियामक नीतिमा तीव्र असन्तुष्टि

शेयर बजारमा आएको निरन्तर गिरावट र जेन–जेड आन्दोलनपछि बनेको नयाँ अन्तरिम सरकारलाई बजारले नपत्याउँदा लगानीकर्ताको असन्तुष्टि सडकदेखि भेलासम्म फैलिएको छ। शनिबार काठमाडौंको कमलपोखरीमा विभिन्न समूहका लगानीकर्ताहरू भेला भएर बजारको सुधारका विषयमा छलफल गरेका थिए।

बजार घट्दा लगानीकर्ताको निद्रा हराम

लगानीकर्ताहरूले लामो समयदेखि बजारमा आएको गिरावटलाई नियामक निकायका केही नीतिसँग जोडेर असन्तुष्टि पोखिरहेका छन्। उनीहरूका अनुसार ३ हजार बिन्दु नाघिसकेको बजार अहिले निरन्तर खस्किँदा लगानीकर्ताको निद्रा हराम भएको छ।

जेन–जेड आन्दोलनपछि दस दिनसम्म बजार बन्द रह्यो। सो अवधि सकिएपछि बिहीबार बजार खुले पनि सुरुको दिनमै नकारात्मक सर्किट लागेर कारोबार स्थगित भयो। यस घटनाले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ।

नियामक निकायमाथि आरोप

आजको भेलामा अधिकांश लगानीकर्ताले धितोपत्र बोर्डलगायत नियामक संस्थाका नीतिहरूले बजार खस्किएको आरोप लगाए। केही लगानीकर्ताले अन्तिम मिनेटको औसत गणना (VWAP) खारेज गर्नुपर्ने माग गरे भने केहीले भने यो प्रणाली कायम रहनुपर्ने अडान लिए। यसले लगानीकर्ता समुदायमै मतभेद सिर्जना गरेको थियो, जसको परिणामस्वरूप छलफलमा झण्डै हात हालाहालको स्थिति समेत देखियो।

संगठनको अभाव र अन्योल

बजारमा साझा प्लेटफर्म नहुँदा नियामक र लगानीकर्ताबीच पनि अन्योल बढेको छ। एउटै मागमा एकताबद्ध हुन नसक्दा लगानीकर्ता आफैं विभिन्न समूहमा विभाजित देखिन्छन्। कतिपय संगठन सरकार र नियामकलाई भेटेर माग राख्न ब्यस्त थिए भने केही लगानीकर्ता प्रत्यक्ष कमलपोखरीमै आन्दोलनमा उत्रिएका थिए।

महासंघ गठनको माग

लगानीकर्तामाझको विभाजन र नियामक नीतिप्रतिको असन्तुष्टिका कारण बजार अझ अनिश्चित दिशातर्फ धकेलिएको छ। यसैबीच, अहिले लगानीकर्ताबीच शेयर बजारकै एउटा महासंघ गठन गरेर साझा आवाज प्रस्तुत गर्नुपर्ने माग बलियो बनेको छ।

बजारमा आएको गिरावट, नियामक नीतिमाथि उठेका प्रश्न, र लगानीकर्ताबीचको मतभेदले गर्दा अहिले पूँजी बजार गम्भीर अन्योलमा परेको छ।

Related News