·

सेबनको ढिलाइले ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए एक खर्बभन्दा बढी

Author

NEPSE TRADING

सेबनको ढिलाइले ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए एक खर्बभन्दा बढी

धितोपत्र बोर्ड नेपाल (सेबन) ले शेयर निष्काशनमा ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र करिब एक खर्ब आठ अर्ब ५० करोड रुपैयाँ गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले दाबी गरेको छ।

इप्पानले आज सेबनलाई पठाएको पत्रमा २०८० साल जेठपछि आईपीओ र राइट शेयर निष्काशनमा ढिलाइ हुँदा ९७५ मेगावाट क्षमताका ४३ वटा आईपीओ र ७ वटा राइट शेयरसहित ५० कम्पनी प्रभावित भएको उल्लेख छ। यसै कारण २३ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर निष्काशन हुन नसकेको, १२ अर्ब ४० करोडभन्दा बढी ब्याज थपिएको, २४ अर्ब ३० करोड बराबरको लागत बढेको र ७१ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी राजस्व गुमाएको दाबी गरिएको छ।

इप्पानका अनुसार सेबनमा अध्यक्ष नहुनु र कुनै कानूनी प्रावधानमा नपर्ने गरी ९० प्रतिशत नेटवर्थको शर्त लगाइएका कारण ढिलाइ भएको हो। यस अवधिमा सेबनले जम्मा १० कम्पनीलाई मात्र आईपीओ र ११ कम्पनीलाई राइट शेयर जारी गर्ने अनुमति दिएको छ।

इप्पान अध्यक्ष गणेश कार्कीले उत्पादनपश्चातमात्र नभई निर्माणाधीन अवस्थामा पनि आईपीओ निष्काशन गर्न दिनुपर्ने माग राख्दै ढिलाइमा परेका सबै कम्पनीलाई तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ।

साथै, २०८० भदौ २४ गते सेबन र इप्पानबीच भएको १२ बुँदे सम्झौतामा ऊर्जा क्षेत्रमा सुशासन, व्यवस्थितता र जनगुनासा सम्बोधन गर्ने प्रतिबद्धता गरिएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै इप्पानले असन्तुष्टि जनाएको छ।

Related News