झापा इनर्जी : पाँच महिनामा चार करोड ७० लाखभन्दा बढीको विद्युत् बिक्री
Author
NEPSE TRADING

झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यबराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार उक्त अवधिमा झापा इनर्जीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो। शिवसताक्षी नगरपालिका–४, बुलुचोकमा अवस्थित १० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ।
झापा इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन सुरु गरेको हो। यसअघि कम्पनी र प्राधिकरणबीच २०७८ साल मङ्सिर १२ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो।
परियोजना निर्माणका लागि बुलुचोकमा २२ बिघा जग्गा खरिद गरिएको छ, जहाँ २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन्। परियोजनाबाट उत्पादित विद्युत् एक किलोमिटर दूरीभित्रै रहेको बुलुचोक सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
कम्पनीको बिक्री क्रमशः बढ्दो क्रममा रहेको छ। झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ मा रु पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् बिक्री गरेको थियो भने आव २०८१/८२ मा बिक्री बढेर रु नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए।
सौर्य ऊर्जामार्फत स्वदेशी उत्पादन बढाउँदै आएको झापा इनर्जीले स्वच्छ ऊर्जाको विस्तारसँगै राष्ट्रिय विद्युत् आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।



