·

७१ परियोजनासहित कोशी प्रदेशको लगानी सम्मेलन: १ खर्ब ७५ अर्बको लगानी लक्ष्य

Author

Nepse trading

७१ परियोजनासहित कोशी प्रदेशको लगानी सम्मेलन: १ खर्ब ७५ अर्बको लगानी लक्ष्य

कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते विराटनगरमा पहिलोपटक आयोजना गर्न लागेको लगानी सम्मेलनमार्फत १ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

प्रदेश सरकारले १० करोडभन्दा माथिका ७१ वटा परियोजनाहरू सोकेस गर्न लागेको हो। पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, आईटी सेवा, स्वास्थ्य लगायतका आठवटा क्षेत्रका परियोजनाहरू प्रस्तुत गरिने प्रदेश लगानी प्राधिकरणका प्रमुख डा. सरोज कोइरालाले जानकारी दिए।

सम्मेलनलाई लक्ष्य गरी प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी, सहकारी, यातायात, भवन, पर्यटन, उद्योग, वन, फर्म रजिस्ट्रेसनसम्बन्धी ८ वटा ऐन अध्यादेशमार्फत संशोधन गरेको छ। कानुनी झन्झट हटाउने यो प्रयासले लगानीकर्ता आकर्षित हुने विश्वास गरिएको छ।

सम्मेलनमा चीन, अमेरिका, भारत, कोरिया, रुसका लगानीकर्ता, गैरआवासीय नेपाली तथा प्रतिष्ठित उद्योगपति सहभागी हुनेछन्। सम्मेलनमा कृषि–पर्यटन, पूर्वाधार–ऊर्जा, उद्योग–बजारीकरण, स्वास्थ्य–शिक्षा लगायत ६ वटा विषयगत छलफल हुनेछन्।

प्री मिट, फलोअप मिट तथा दुई दर्जन परियोजनामा सहमति हुने तयारी पनि गरिएको छ। सम्मेलनलाई ऐतिहासिक र उपलब्धिमूलक बनाउने उद्देश्य प्रदेश सरकारको रहेको छ।

Related News