तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरूमा ग्लोबल आइएमई बैंक, मुक्तिनाथ कृषि कम्पनी, र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन्।
यीमध्ये मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्तले कात्तिक १४ गते बुक क्लोज गर्नेछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुक क्लोज गर्नेछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र आगामी साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ। बैंकले लाभांश पारित गर्न कात्तिक २६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा लेखापरीक्षक नियुक्ति, नियमावली संशोधन र सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि पारित गरिनेछन्।
मुक्तिनाथ कृषि कम्पनी
मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको साधारणसभा कात्तिक २९ गते हुनेछ। बोनस वितरणपछि कम्पनीले कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ।
गुराँस लघुवित्त
गुराँस लघुवित्तले गत आवका लागि १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको दशौं वार्षिक साधारणसभा कात्तिक २३ गते हुनेछ। सभाले नियमावली संशोधन, सञ्चालक नियुक्ति र लेखापरीक्षक चयन जस्ता एजेन्डा पारित गर्नेछ।



