काठमाडौं — जीवन बीमा कम्पनीहरूको नाफामा गत आर्थिक वर्ष २०८२/८३ मा दबाब देखिएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ६ वटाको नाफा घट्दा आठ कम्पनीले मात्रै अघिल्लो वर्षको तुलनामा सुधार गर्न सकेका छन्। समग्र जीवन बीमा क्षेत्रको नाफा भने ९.१७ प्रतिशतले घटेको छ।
नाफा वृद्धिमा सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको नाफा एक वर्षमा १०६.६६ प्रतिशतले बढेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको नाफा ७१.९१ प्रतिशतले वृद्धि भएको छ भने सूर्यज्योति लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, एशियन लाइफ र आईएमई लाइफले पनि सामान्य सुधार गरेका छन्।
नाफाको आकारका आधारमा भने आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीले गत वर्ष ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। रिलायबल नेपाल लाइफले ५८ करोड २६ लाख, नेपाल लाइफले ४६ करोड ५४ लाख, सन नेपाल लाइफले ४१ करोड ८५ लाख र एशियन लाइफले ४१ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
समग्रमा १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका छन्। तर राष्ट्रिय जीवन बीमा कम्पनी भने २ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको छ। मेटलाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ र नेशनल लाइफको नाफामा पनि गिरावट आएको छ।
बीमा कम्पनीहरूको नाफा घट्नुको मुख्य कारण बैंक ब्याजदरमा आएको गिरावटलाई मानिएको छ। जीवन बीमा कम्पनीहरूको ठूलो हिस्सा लगानी मुद्दती निक्षेपमा रहेकाले ब्याजदर घट्दा लगानी आम्दानीमा प्रत्यक्ष असर परेको हो।
जीवन बीमा कम्पनीहरूको कुल लगानीमध्ये ७५ प्रतिशतभन्दा बढी रकम मुद्दती निक्षेपमा रहेको छ। बैंकको संस्थागत निक्षेपको ब्याजदर करिब २.७५ प्रतिशतमा झरेपछि बीमा कम्पनीको प्रतिफल घटेको बीमा क्षेत्रका अधिकारीहरूको भनाइ छ।
बैंक ब्याजदर पुनः बढेमा बीमा कम्पनीहरूको लगानी आम्दानी सुधार हुन सक्ने अपेक्षा गरिएको छ। हालको अवस्थाले भने जीवन बीमा कम्पनीहरूको चुनौती व्यवसाय विस्तारभन्दा पनि लगानीबाट प्राप्त हुने प्रतिफल कायम राख्नु रहेको देखाएको छ।




