·

समपूरक र विशेष अनुदानका लागि स्थानीय तहलाई प्रस्ताव आह्वान

Author

NEPSE TRADING

समपूरक र विशेष अनुदानका लागि स्थानीय तहलाई प्रस्ताव आह्वान

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान तथा विशेष अनुदानअन्तर्गत सञ्चालन हुने कार्यक्रम र आयोजनाका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको छ।

मन्त्रालयले समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ अनुसार प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको हो। नयाँ आर्थिक वर्षका लागि बजेट निर्माण प्रक्रियालाई ध्यानमा राख्दै तोकिएको समयसीमाभित्र प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ।

कार्यविधिअनुसार समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि आगामी माघ मसान्तभित्र प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा मन्त्रालयले सम्बन्धित निकायलाई आवश्यक विवरणसहित आयोजना र कार्यक्रमको प्रस्ताव तयार गरी पेस गर्न भनेको छ।

मन्त्रालयका अनुसार प्रस्ताव राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत माघ मसान्तभित्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। बजेट निर्माण प्रक्रियामा विभिन्न समयसीमा तोकिएकाले सोहीअनुसार प्रस्ताव माग गरिएको जनाइएको छ।

संविधानअनुसार हरेक वर्ष जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन सङ्घीय सरकारका अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था छ। त्यसअघि नै अनुदानसम्बन्धी प्रस्ताव सङ्कलन गरी बजेट निर्माण प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

Related News