काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साउन २६ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राप्त स्वीकृति अनुसार कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न पाउने अनुमति प्राप्त गरेको थियो।
अब सर्वसाधारणका लागि खुला गरिएको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन २९ गते तोकिएको छ।
आईपीओ निष्काशनको लागि गराइएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई “ICRA NP Issuer Rating Single B+” प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले निर्माण सम्पन्न गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना रहेको छ। सो आयोजनाको कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ पर्नेछ। आयोजनाको विद्युत उत्पादन अनुमति पत्रमा अझै ३१ वर्ष बाँकी रहेको छ।
लगानी फिर्ता हुने साधारण अवधि ९.४३ वर्ष र डिस्काउन्ट गरिएको अवस्थामा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।





