कालीमाटीबाट ५७ लाखभन्दा बढी हुण्डी कारोबारमा संलग्न युवक पक्राउ
Author
NEPSE TRADING

काठमाडौं– नेपाल प्रहरीले हुण्डीमार्फत् ५७ लाखभन्दा बढी रकम कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१४, कुलेश्वरस्थित चुन्ने पाखा टोलमा गरिएको अपरेसनमार्फत् काभ्रेपलाञ्चोक, नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
उनले रु ५७ लाख ४७ हजार ३५० बराबरको रकम अवैध रूपमा हुण्डीमार्फत् लेनदेन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिवसिय म्याद थप अनुमति लिएर विस्तृत अनुसन्धान जारी राखिएको छ।
प्रहरीले हुण्डी कारोबार मुलुकको वित्तीय प्रणालीका लागि गम्भीर चुनौती भएकाले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि लगातार निगरानी तथा कडा कारबाही जारी राख्ने जनाएको छ।


