नेपालको पूँजी बजारमा फेरि अन्योलता बढ्दै गएको छ। बजेट, मौद्रिक नीतिको समिक्षा र सकारात्मक सन्देशकाबीच समेत मंगलबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। यसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ।
साताको दोस्रो कारोबार दिन नेप्से सूचक ३५.७३ अंकले घट्दै २६५८.९३ विन्दुमा पुगेको छ। अघिल्ला दुई दिन सामान्य सुधार देखिए पनि मंगलबारको गिरावटले बजार फेरि दबाबमा आएको संकेत दिएको हो। कारोबारमा रहेका २४८ कम्पनीमध्ये २१४ कम्पनीको शेयरमूल्य घटेको छ भने जम्मा ३४ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ।
कारोबार रकम घट्दै, लगानीकर्ता 'पर्ख र हेर्न' मोडमा
सोमबार ९ अर्बभन्दा बढीको कारोबार भएकोमा मंगलबार घटेर ६ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ। कारोबार रकमको गिरावट लगानीकर्ताको बजारप्रतिको चासोमा ह्रास आएको स्पष्ट संकेत हो। बैंकिङ्ग, होटल, लघुवित्त, विकास बैंक, व्यापार र लगानी उपसमूह सबै घटेका छन्। बैंकिङ्ग उपसमूह २.३४% ले घटेर सबैभन्दा बढी प्रभावित भएको हो।
तर यति गिरावटबीच पनि ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी का सेयर सकारात्मक सर्किटमा कारोबार हुँदा थोरै आशा देखिएको छ। कारोबार रकममा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहँदा सप्तकोशी डेभलपमेन्ट बैंक ४.५% ले घटेको हो।
प्रविधिक विश्लेषणः ट्रेन्ड अस्पष्ट, बजार दायरामै अल्झियो
नेप्से चार्ट हेर्दा बजार स्पष्ट दिशाहीन अवस्थामा देखिन्छ। सूचक लगातार 'हाई लो' र 'लो हाई' को संरचनामा अल्झिएको छ। बजार २५५०–२७५० को दायरामा अड्किएको छ र २७०० माथि जान खोज्दा बारम्बार रेसिस्टेन्समा ठोक्किएको छ।
चार्ट अनुसार हाल बजारमा ठूलो सेलिङ प्रेशर देखिएको छैन, तर नयाँ खरिद पनि नआएकाले लगानीकर्ता 'पर्ख र हेर्न' मोडमा छन्। भोल्युम बारहरू कम छन्, हरियो क्याण्डलहरू पनि कम भोल्युममै बनेका छन्, जसले बजारमा आत्मविश्वास कमजोर रहेको देखाउँछ।
ब्रोकर विश्लेषणः किनमेल र बिक्रीमा मिश्रित गतिविधि
मंगलबार ठूला ब्रोकरहरूबाट ६ ब्रोकरले बढी खरिद गरेका छन् भने ४ ब्रोकरले बढी बिक्री गरेका छन्। उदाहरणका लागि, ब्रोकर नं. ५८ ले ३०.५६ करोडको खरिद र २९.०३ करोडको बिक्री गरेको छ। यसैगरी ब्रोकर नं. ४२, ४५, ३४ र ६२ ले पनि बाइनै बढी गरेका छन्।





