·

एमसिसी परियोजनालाई निरन्तरता, एमसिए-नेपालद्वारा स्वागत

Author

NEPSE TRADING

एमसिसी परियोजनालाई निरन्तरता, एमसिए-नेपालद्वारा स्वागत

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी अन्तर्गतका परियोजनाहरूलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको भन्दै स्वागत गरेको छ। अमेरिकी वैदेशिक सहयोगमा लगाइएको अस्थायी स्थगनको सन्दर्भमा विशेष छुट दिँदै एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन अगाडि बढाउने निर्णय गरिएको हो।

एमसिए–नेपालले बुधबार जारी गरेको विज्ञप्तिमा २९७ किलोमिटर लामो विद्युत प्रसारण लाइन, तीन वटा सबस्टेशन, १८ किलोमिटर सीमापार ट्रान्समिसन लाइन तथा पूर्वपश्चिम राजमार्गको भालुवाङ–लमही–शिवखोला खण्डको स्तरोन्नति सम्बन्धी कार्यहरूलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि केही वैदेशिक सहायता परियोजना स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि एमसिसी पनि ९० दिनको पुनर्मूल्यांकनमा परेको थियो। तर, चैत ८ गते अमेरिकी सरकारले कार्यक्रम रोक्न नपर्ने पत्र पठाएपछि कार्यान्वयनमा स्पष्टता आएको हो।

५० करोड अमेरिकी डलर अनुदान सहयोगअन्तर्गत ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा र ५ करोड २० लाख डलर सडक मर्मतमा खर्च हुने योजना छ। हालसम्म परियोजना अन्तर्गत ठेक्का प्रक्रिया र निर्माणको प्रारम्भिक चरण अगाडि बढिसकेको एमसिए–नेपालले जनाएको छ।

Related News