·

एमडिएमएस सुधार अपरिहार्य छ : मन्त्री खरेल

Author

NEPSE TRADING

एमडिएमएस सुधार अपरिहार्य छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आफू मन्त्री बनेपछि गम्भीर रूपमा अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन्। एमडिएमएस वर्तमान अवस्थामा समस्याग्रस्त बनेको उल्लेख गर्दै उनले यसमा सुधार नगरी विकल्प नरहेको स्पष्ट पारे।

शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले एमडिएमएस सुरुदेखि नै विभिन्न अव्यवस्था र विकृतिसँग जोडिएको बताए। अध्ययनका क्रममा प्रणाली नै जटिल संरचनाभित्र अल्झिएको पाइएको भन्दै त्यसलाई तोडेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

एमडिएमएस सुधार सहज नभए पनि समय लिएर समाधान खोज्नुपर्ने मन्त्री खरेलको भनाइ थियो। छोटो अवधिमा चमत्कारिक परिवर्तन सम्भव नहुने भए पनि संरचनागत सुधारतर्फ सरकार अघि बढ्ने उनले बताए।

मन्त्री खरेलले मोबाइल व्यवसायले देशको आर्थिक गतिविधि विस्तार गर्नुका साथै सामाजिक र पारिवारिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनका अनुसार यस क्षेत्रमा ठूलो संख्यामा युवा संलग्न छन् र मोबाइल व्यवसायबाट करिब एक लाख जनाले रोजगारी पाएका छन्। काठमाडौं उपत्यकामा मात्रै करिब चार हजार मोबाइल व्यवसायी सक्रिय रहेको उनले जानकारी दिए।

मोबाइल व्यवसाय सूचना प्रविधि मन्त्रालयसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूको भूमिकाप्रति सरकारको ध्यान रहेको मन्त्री खरेलले बताए। उनले नेपाल सरकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मोबाइल व्यवसायीहरूप्रति धन्यवाद व्यक्त गरे।

एमडिएमएस सुधारपछि सरकारलाई प्राप्त हुने राजस्व प्रणाली पारदर्शी हुने र व्यवसायीहरूको कारोबार पनि स्पष्ट हुने मन्त्री खरेलको भनाइ छ। सीमित समय बाँकी रहेको वर्तमान सरकारको कार्यकालमा सकेसम्म व्यावहारिक सुधार गर्ने प्रयास गरिने उनले बताए।

मन्त्री खरेलले नेपाल मोबाइल व्यवसायी महासंघको केन्द्रीय नेतृत्वलाई मन्त्रालयमा बोलाएर व्यवहारिक समस्या र सुझावबारे छलफल गर्न आग्रह गरे। सरकार र व्यवसायीबीच सहकार्य गरेर समाधान खोज्न सकिनेमा उनले जोड दिए।

अन्त्यमा उनले वर्तमान सरकारलाई नयाँ पुस्ताको सोच प्रतिनिधित्व गर्ने सरकारको संज्ञा दिँदै नवीन सोच र सहकार्यका माध्यमबाट समस्याको समाधान खोजिने विश्वास व्यक्त गरे।

Related News