काठमाडौं — प्रविधि कम्पनी मेटाले १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताका लागि लक्षित गर्दै व्यक्तिगत कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्ट ‘म्यूज’ सार्वजनिक गरेको छ। हाल अमेरिकामा मात्र उपलब्ध गराइएको यो एजेन्टले दैनिक जीवनका विभिन्न व्यावहारिक काममा सहयोग गर्नुका साथै प्रयोगकर्ताका दीर्घकालीन लक्ष्यलाई कार्ययोजनामा रूपान्तरण गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले छुट्टै म्यूज एप वा ह्वाट्सएपमार्फत यससँग सहजै कुराकानी गर्न सक्नेछन्।
म्यूजले सामान्य च्याटबटभन्दा अगाडि बढेर प्रयोगकर्ताको तर्फबाट डिजिटल कार्यहरू आफैँ सम्पन्न गर्न सक्ने क्षमता राख्छ। यसले समयतालिका बनाउने, किनमेल गर्ने, इमेल पठाउने र यात्रा बुकिङ गर्नुका साथै वर्षभरको व्यायाम योजना वा नयाँ व्यवसाय सुरु गर्नेजस्ता लामा अवधिका लक्ष्यहरूमा समेत योजना तयार गरी कार्यान्वयनतर्फ अघि बढाउन सहयोग गर्छ। प्रयोगकर्ताले आफ्नो लक्ष्य बताएपछि म्यूजले उपलब्ध समय र स्रोतलाई व्यवस्थित गर्दै काम अघि बढाउँछ। साथै, यसले वेब ब्राउजर खोल्ने, फाराम भर्ने वा इमेल पढेर आफैँ जवाफ पठाउने जस्ता कामहरू गर्न सक्ने मेटाले स्पष्ट पारेको छ।
प्रविधि क्षेत्रमा च्याटबटको पछिल्लो पुस्ताका रूपमा हेरिएको यो एजेन्ट मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको दीर्घकालीन 'एआई सुपरइन्टेलिजेन्स' योजनाको एक महत्त्वपूर्ण हिस्सा हो। जुकरबर्गले भविष्यमा प्रत्येक व्यक्तिसँग सम्बन्ध, स्वास्थ्य, करियर र वित्तजस्ता क्षेत्रमा चौबीसै घण्टा सहयोग गर्ने व्यक्तिगत एआई एजेन्ट हुने परिकल्पना गरेका छन्। मानिसले गर्न नचाहेका वा समय नपाउने कामहरू एआई एजेन्टले सम्हाल्ने दाबी गरिए पनि, यसले वास्तविक डिजिटल काम गर्ने हुनाले मेटाले सुरक्षित भर्चुअल मेसिनमार्फत डेटा सुरक्षा र गोपनीयतालाई विशेष प्राथमिकता दिएको छ।




