नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो
बजारमा मिश्रित संकेत, प्राविधिक विश्लेषक भन्छन्– अझै दिशा स्पष्ट छैन
२७२८ को अवरोध पार नभएसम्म बजारमा निर्णायक गति आउन कठिन
लगातार उतारचढावबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार हरियो बनेको बजारले यस दिन भने स्थायित्व कायम राख्न नसक्दा परिसूचक पुनः राताम्मे बनेको हो । यद्यपि गिरावट ठूलो नभएकाले लगानीकर्ताले बजारलाई अझै ‘करेक्सन’कै चरणका रूपमा हेरेका छन् ।
बुधबार नेप्से परिसूचक १.६४ अंकले घट्दै २७११.२२ विन्दुमा झरेको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा यस दिन ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँमा सीमित भएको हो ।
यस दिन ३३६ वटा स्टकको ४७ हजार ८४१ पटक कारोबार हुँदा ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबार रकम घटे पनि केही कम्पनीमा भने लगानीकर्ताको आकर्षण उल्लेख्य देखिएको छ । विशेषगरी जलविद्युत र लघुवित्त क्षेत्रका केही कम्पनीमा तीव्र उतारचढाव देखिएको हो ।
बजारमा सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रह्यो । सो कम्पनीको शेयरमूल्य १३.७४ प्रतिशतले बढेको छ । त्यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्य करिब ६ प्रतिशतले उकालो लागेको छ भने एनआईसी एशियन ग्रोथ फण्ड–२ को इकाईमूल्य पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ ।
उता, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी दबाब खेप्नुपरेको छ । कम्पनीको शेयर मूल्य ८.९० प्रतिशतले घट्दै दिनभरकै उच्च गिरावटमा परेको हो ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा देखिएको छ । कम्पनीको २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको १६ करोड रुपैयाँभन्दा बढी र नेशनल हाइड्रोपावरको करिब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
उपसमूहगत प्रदर्शन मिश्रित देखिएको छ । १३ उपसमूहमध्ये ८ उपसमूह हरियो बनेका छन् भने ५ उपसमूह घटेका छन् । बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ । तर विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन तथा व्यापार उपसमूहमा दबाब कायम रह्यो ।
विश्लेषकहरूका अनुसार बजार अहिले स्पष्ट दिशा खोज्ने चरणमा रहेको छ । कारोबार रकम निरन्तर घट्दै जानु र परिसूचक सीमित दायरामा उतारचढाव हुनुबाट लगानीकर्ता अझै निर्णायक रूपमा प्रवेश गर्न हिच्किचाइरहेको संकेत देखिन्छ । यद्यपि चयनित कम्पनीमा देखिएको सक्रिय कारोबारले बजारमा पूर्ण निराशा भने नरहेको संकेत दिएको छ ।
अब लागौं प्राविधिक विश्लेषणतर्फ
साताको मध्य कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भए पनि प्राविधिक विश्लेषणतर्फ हेर्दा बजार अझै दबाबबाट पूर्ण रूपमा बाहिरिन नसकेको संकेत देखिएको छ । दिनभर उतारचढावबीच चलेको बजार अन्तिम समयमा कमजोर हुँदै २७११.२२ विन्दुमा बन्द भएको हो । दैनिक चार्टमा बनेको पछिल्लो क्याण्डल, ट्रेन्डलाइनको व्यवहार र विभिन्न प्राविधिक संकेतकहरूले बजारमा लगानीकर्ता अझै सतर्क अवस्थामा रहेको चित्र देखाएका छन् ।

चार्टअनुसार नेप्से अहिले लगातार ‘लोअर हाई’ बनाउँदै तलतिर झर्ने संरचनाभित्र रहेको देखिन्छ । बुधबारको कारोबारमा पनि परिसूचक सोही डाउनट्रेन्ड लाइन नजिक पुगेर पुनः असफल भएको देखिन्छ । आज बनेको क्याण्डललाई प्राविधिक रूपमा हेर्दा ‘बेयरिस कन्फर्मेशन’ प्रकारको कमजोर क्याण्डलका रूपमा लिन सकिने अवस्था देखिएको छ । दिनको सुरुवातमा बजारले माथि जान खोजे पनि अन्त्यतिर बिक्री दबाब बढ्दा क्याण्डलको क्लोजिङ तल्लो क्षेत्रमा भएको छ । यसले बजारमा अपसाइड मोमेन्टम कमजोर बन्दै गएको संकेत गर्छ ।
विशेषगरी २७२८ क्षेत्रको प्रतिरोध पार गर्न नसक्नु बजारका लागि नकारात्मक मानिएको छ । प्राविधिक विश्लेषकहरूका अनुसार अहिलेको बजार ‘वेट एन्ड वाच’ चरणमा छ । २७२८ माथि मजबुत क्लोजिङ आए मात्र बजारले छोटो अवधिमा फेरि गति लिनसक्ने सम्भावना रहन्छ । तर त्यसो हुन नसकेमा बजार पुनः २६७० आसपासको सपोर्ट परीक्षणतर्फ जानसक्ने जोखिम कायम रहेको देखिन्छ ।
प्राविधिक सूचकहरू पनि अहिले मिश्रित अवस्थामा देखिएका छन् । आरएसआई तटस्थ क्षेत्रनजिक रहेकाले बजारमा न त अत्यधिक खरिदको अवस्था छ, न त अत्यधिक बिक्रीको । त्यसैगरी कारोबार भोल्युम घट्दै जानुले बजारमा नयाँ पैसा प्रवेश कमजोर भएको संकेत दिएको छ ।
विश्लेषकहरू भन्छन्, अहिले बजारमा स्पष्ट ट्रेन्डभन्दा पनि ‘रिएक्सन मूभ’ बढी देखिएको अवस्था हो । त्यसैले छोटो अवधिका लगानीकर्ताले जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने र दीर्घकालीन लगानीकर्ताले बलियो आधार भएका कम्पनी छनोट गरेर मात्रै प्रवेश गर्नुपर्ने अवस्था देखिएको छ ।






