दक्षिण कोरियाको ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सञ्चारमन्त्री खरेल : नेपालमा एआई विकासलाई दिनेछ नयाँ उर्जा
Author
NEPSE TRADING

दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रवर्द्धनका लागि नयाँ उर्जा प्राप्त भएको बताएका छन्। ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि मन्त्री खरेलले एआई नेपाललाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ अघि लैजान महत्वपूर्ण सहयोगी उपकरण बन्ने विश्वास व्यक्त गरे।
स्मार्ट सिटी सेन्टरका गतिविधिबारे विस्तृत जानकारी लिएपछि मन्त्री खरेलले कोरियाको एआई विकास मोडेलबाट नेपालमा स्थापनाको सुरुआत भएको एआई केन्द्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न उपयोगी ज्ञान र व्यवहारिक दृष्टिकोण प्राप्त भएको बताए। उनले भने, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाई अझ सबल बनाउन ज्ञान मिलेको छ, यसले हाम्रो केन्द्रलाई प्रभावकारी बनाउनेछ।”
उनका अनुसार एआईका माध्यमबाट प्राप्त विश्वव्यापी अवसर, राष्ट्रनिर्माणमा यसको उपयोग र भविष्यको सम्भावनाबारे कोरियाली विज्ञहरूसँग समेत फलदायी छलफल भएको थियो।
मन्त्री खरेलले ‘डिजिटल नेपाल’ तथा ‘डिजिटल ट्रान्सफर्मेसन’का लक्ष्यहरूलाई अघि बढाउन यो फोरम अत्यन्तै उपलब्धिमूलक भएको उल्लेख गर्दै नेपालले एआई प्रविधिको विकास तथा उपयोगलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिएका छन्।


