काठमाडौँ — नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्ना विभिन्न डिजिटल भुक्तानी सेवामा लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७ (पहिलो संशोधन, २०८०) अनुसार प्रत्येक ६ महिनामा शुल्क सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम यो नयाँ सूची प्रकाशित गरिएको हो।
विद्युतीय चेक क्लियरिङ (एनसीएचएल–ईसीसी) मा नेपाली मुद्राको नियमित चेकका लागि ५०० रुपैयाँसम्मको कारोबारमा कुनै शुल्क लाग्दैन। ५०० देखि ५० हजार रुपैयाँसम्म ५ रुपैयाँ, ५० हजारदेखि २ लाखसम्म १० रुपैयाँ र २ लाख रुपैयाँमाथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्नेछ।
अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) मार्फत हुने नेपाली मुद्राको कारोबारमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५० हजारसम्म ५ रुपैयाँ र ५० हजारमाथि १० रुपैयाँ शुल्क तोकिएको छ। विदेशी मुद्राको कारोबारमा भने १० रुपैयाँ शुल्क लाग्नेछ।
कनेक्टआईपीएस (connectIPS) मार्फत हुने रिटेल पेमेन्ट सेवामा मोबाइल बैंकिङ, कनेक्टआईपीएस एप वा वेब तथा वालेट क्यास इन/आउटअन्तर्गत ५०० रुपैयाँसम्मको कारोबारमा शुल्क लाग्दैन। ५०० देखि ५ हजारसम्म ४ रुपैयाँ र ५ हजारमाथि ८ रुपैयाँ शुल्क लाग्नेछ। अन्य च्यानल तथा क्यूआर प्रयोगका कारोबारमा भने ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५ हजारसम्म ४ रुपैयाँ र ५ हजारमाथि ८ रुपैयाँ शुल्क तोकिएको छ।
राजस्व भुक्तानीतर्फ १० हजार रुपैयाँसम्मको कारोबारमा २ रुपैयाँ र त्यसभन्दा माथि ५ रुपैयाँ शुल्क लाग्नेछ। एनसीएचएलका अनुसार कारोबार असफल भएको अवस्थामा भने कुनै शुल्क लिइनेछैन।
एनसीएचएलले एनसीएचएल–आईपीएस, एनपीएस तथा कनेक्टआईपीएससम्बन्धी थप जानकारीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गर्न आग्रह गरेको छ।






