नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ। चेम्बरका कार्यबाहक अध्यक्ष दिपक कुमार मल्होत्रा नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा भेट गर्दै शुभकामना दिएको हो।
चेम्बरद्वारा जारी विज्ञप्तिमा डा. पौडेललाई वित्तीय तथा आर्थिक क्षेत्रमा अनुभवी व्यक्तित्वको रूपमा उल्लेख गर्दै, आर्थिक नीति निर्माण र वित्तीय सुशासन प्रवद्र्धनमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताइएको छ। गभर्नर पदमा उनको नियुक्तिलाई दीर्घकालीन सुधार र स्थायित्वको दिशामा उठाइएको महत्वपूर्ण कदमका रूपमा स्वागत गरिएको छ।
चेम्बरले डा. पौडेललाई मुलुकका प्राथमिकतायुक्त क्षेत्र—मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सुदृढीकरण, वित्तीय पहुँचको विस्तार, तथा वित्तीय समावेशिता—का लागि रणनीतिक योजनासहित काम गर्न सुझाव दिएको छ।
कार्यबाहक अध्यक्ष मल्होत्राले भने, “बजेट र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय गर्दै मुलुकको आर्थिक प्रणालीलाई पुनः गतिशील बनाउन राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छौं।”
चेम्बरले राष्ट्र बैंकसँग डिजिटल वित्तीय प्रणाली प्रवद्र्धन, सूक्ष्म, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच विस्तार, र समावेशी वित्तीय नीतिको विकासमा अग्रगामी भूमिका निर्वाह गर्ने अपेक्षा राखेको छ।
मल्होत्राले राष्ट्र बैंकको भूमिकालाई अझ समन्वयकारी र प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्दै, अघिल्लो चार वर्षयता अपनाइएको संकुचित मौद्रिक नीतिले निजी क्षेत्रलाई ठूलो क्षति पुर्याएको दाबी गरे। संकुचित कर्जा प्रवाह बढाउनुपर्ने र उद्यमीहरूमा आत्मविश्वास जगाउने वातावरण निर्माण गर्नुपर्ने चेम्बरको भनाइ छ।
चेम्बरले चालु पुँजी कर्जा सम्बन्धी निर्देशन खारेज गर्नुपर्ने माग समेत राखेको छ, जसले निजी क्षेत्रको वित्तीय व्यवस्थापनलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ।





