अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा एक वर्षे ऋणपत्र निरन्तर जारी
Author
NEPSE TRADING

बैंकिङ प्रणालीमा लामो समयदेखि आवश्यकता भन्दा बढी तरलता थुप्रिएपछि त्यसलाई सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंक ले निरन्तर रूपमा तरलता प्रशोचन नीति अपनाउँदै आएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामै राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत कारोबारमा आधारित करिब १,३०७५ अर्ब ९५ करोड रुपैयाँ बराबरको तरलता खिचिसकेको छ। यसमध्ये ७ खर्ब १४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन बोलकबोलमार्फत र १२३६१ अर्ब ३० करोड रुपैयाँ स्थायी निक्षेप सुविधामार्फत तानिएको हो। यसअघि छोटो अवधिका उपकरण प्रयोग गर्दै आएको राष्ट्र बैंकले पछिल्लो समय दीर्घकालीन उपायका रूपमा एक वर्षे ऋणपत्रलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न थालेको छ।
यसै क्रममा राष्ट्र बैंकले पुस १४ गते पहिलोपटक २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गरेको थियो भने त्यसको केही दिनमै पुनः २५ अर्ब रुपैयाँको अर्को ऋणपत्र जारी गरिएको छ। तरलता प्रशस्त रहेकाले यी ऋणपत्रमा माग अत्यधिक देखिएको छ—२५ अर्ब रुपैयाँको मागमा एक खर्ब २० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ भने अर्को ऋणपत्रमा पनि ५१ अर्ब रुपैयाँभन्दा बढीको आवेदन आएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने यस प्रक्रियामा बहु–ब्याजदर प्रणाली लागू हुनेछ। स्वीकृत रकम निष्कासन मितिमा खाताबाट कट्टा गरिने, परिपक्वताअघि फिर्ता लिन नपाइने तथा पर्याप्त मौज्दात नहुँदा जरिवाना र सहभागिता निलम्बन हुने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार ऋणपत्रसम्बन्धी सबै प्रक्रिया प्रचलित ऐन, नियम र कार्यविधि अनुसार हुनेछ।


