·
नेपाल राष्ट्र बैंकले फागुन २७ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले फागुन २७ गते २८ दिनका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै यस सम्बन्धी विस्तृत जानकारी गराएको छ।बैंकका अनुसार, निक्षेप सङ्कलन उपकरणको बोलकबोल फागुन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत मात्र हुनेछ। यसको निष्कासन मिति पनि फागुन २७ गते नै तोकिएको छ। यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याजको भुक्तानी २०८२ चैत २५ गते हुनेछ। लगानीकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी कुल आह्वान रकमसम्मको लागि बोल गर्न सक्नेछन्।यसबाहेक, सङ्कलित निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी हुँदा निक्षेप वापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।निक्षेप सङ्कलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँड गरिनेछ। यदि समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश भएमा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रोराटा बेसिसमा बाँडफाँड गरिनेछ। आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ।स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउन्टर पार्टीको बैंकमा रहेको खाताबाट खर्च गरी लिनेछ। बैंकमा सङ्कलित निक्षेपको अलग्गै खाता खोली जम्मा गरिनेछ। यदि बोलपत्र स्वीकृत भएका काउन्टर पार्टीको खातामा सो उपकरण निष्कासन गरिने दिनमा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टर पार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ।निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित सङ्कलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंकस्थित खातामा जम्मा गरिनेछ। सङ्कलित निक्षेप रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। तर यस बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ।



