·

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषका ४ अर्बभन्दा बढी रकम संस्थागत निक्षेपमा लगानी गर्ने

Author

NEPSE TRADING

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषका ४ अर्बभन्दा बढी रकम संस्थागत निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा संचित ४ अर्ब ३५ करोड रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग गरेको छ।

राष्ट्र बैंकका अनुसार प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरूले मंसिर ২৩ गतेसम्म आफूले कति रकम संस्थागत निक्षेपको रूपमा लिन चाहन्छन् र कति ब्याजदर प्रस्ताव गर्छन् भन्ने विवरणसहित प्रस्ताव पेश गर्नुपर्नेछ। लगानी गर्न लागेको उक्त निक्षेपको अवधि ३६६ दिन रहनेछ—अर्थात डिसेम्बर १४, २०२५ देखि डिसेम्बर १४, २०२६ सम्म।

यसका लागि छुट्याइएको कुल रकममध्ये

  • वाणिज्य बैंकका लागि — ३ अर्ब ४८ करोड

  • विकास बैंकका लागि — ६५ करोड २५ लाख

  • फाइनान्स कम्पनीका लागि — २१ करोड ७५ लाख रुपैयाँ

राखिएको छ।

यस निक्षेप लगानीमा प्रतिस्पर्धा गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आएको हुनुपर्ने छ। साथै, राष्ट्र बैंकले तोकेअनुसारका कडा वित्तीय सूचकहरू पनि संस्थामा कायम हुनुपर्नेछ।

निक्षेप पाउन आवश्यक मुख्य योग्यता यस्तो छः

  • न्यूनतम कुल पुँजीकोष (बफरसहित) पूरा भएको

  • निष्क्रिय कर्जा (NPA) कुल कर्जाको ८% भन्दा कम

  • खुद निष्क्रिय कर्जा ३% भन्दा नबढेको

  • खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २०% भएको

  • कर्जा/निक्षेप तथा प्राथमिक पुँजी अनुपात निर्धारित दायराभित्र रहेको

  • सञ्चालन मुनाफा सकारात्मक रहेको

  • सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्ता व्यक्ति हाल बैंकमा नरहेको

  • शीघ्र सुधारात्मक कारबाहीमा परेको भए कम्तीमा ६ महिना अगाडि फुकुवा भएको

  • रियल स्टेट कर्जा बैंकहरूका लागि तोकिएको सीमा ननाघेको

राष्ट्र बैंकले स्पष्ट पारेअनुसार, प्रस्तावित निक्षेप लगानीका लागि बैंक समस्याग्रस्त नठहरिएको वा समस्याग्रस्त भए पनि फुकुवा भएर कम्तीमा ६ महिना बितिसकेको हुनुपर्नेछ।

यस लगानी व्यवस्थाबाट उपदान तथा पेन्सन कोषमा रहेको निष्क्रिय रकमलाई सुरक्षित तरलता व्यवस्थापनमार्फत उपयुक्त प्रतिफलमा परिचालन हुने राष्ट्र बैंकको अपेक्षा छ।

Related News