·

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ संकलनको तयारी

Author

Nepse Trading

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ संकलनको तयारी

नेपालको वित्तीय प्रणालीमा देखिएको अत्यधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले पुनः कदम चालेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम प्रशस्त भएपछि राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको हो।

राष्ट्र बैंकका अनुसार उक्त रकम २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत संकलन गरिनेछ। बैंकले यसअघि पनि नियमित रूपमा आइतबार र बुधबार यस्ता उपकरणमार्फत बजारबाट रकम झिक्ने कार्य गर्दै आएको छ।

राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार, इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत संलग्न हुन सक्नेछन्। बोलकबोलको न्यूनतम सीमा १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ अर्ब रुपैयाँसम्म राखिएको छ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। संकलन गरिने रकम ब्याजदर प्रतिस्पर्धात्मक आधारमा निर्धारण गरिनेछ। साथै, खरिद गरिएका निक्षेप संकलन उपकरणहरू अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यस कदमलाई राष्ट्र बैंकले मौद्रिक सन्तुलन कायम राख्ने उपायको रूपमा लिएको हो। तरलता अत्यधिक भएमा मुद्रास्फीति बढ्ने जोखिम रहने भएकाले त्यसको नियन्त्रणका लागि बैंकले बजारबाट रकम संकलन गर्न थालेको हो।

Related News