·

नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक, ह्याकरहरू बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास

Author

NEPSE trading

नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक, ह्याकरहरू बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास

नेपाल धितोपत्र बोर्ड (सेबोन) को आधिकारिक इमेल आईडी ह्याकरहरूको नियन्त्रणमा पुगेको छ । बोर्डले प्राविधिक कारणले समस्या भएको भन्दै सूचना जारी गरेको छ, तर आन्तरिक स्रोतहरूका अनुसार ह्याकरहरूले उक्त इमेलबाट दर्जनभन्दा बढी कम्पनीहरूलाई निर्देशनसहितका मेलहरू समेत पठाएको आंसका गरीएको छ । यसको अनुसन्धान भईरहेको पनि बुभिएको छ । बोर्डका उच्च अधिकारीहरूका अनुसार, इमेल आईडी हाल ह्याकरहरूको हातमा छ । यसबाट विभिन्न कम्पनीहरूलाई नियामकीय निर्देशनहरू जस्ता देखिने मेलहरू पठाइएको बुझिएको छ ।

“हामीले यसलाई प्राविधिक समस्या भनेर मात्रै सूचना जारी गरेका छौँ, तर वास्तविकता यो हो कि ह्याकरहरूले इमेलमा पहुँच प्राप्त गरेका छन्,“ एक उच्च स्रोतले नाम नखुलाउने शर्तमा बताए । बोर्डले जारी गरेको आधिकारिक सूचनामा भनिएको छ, “बोर्डको आधिकारिक इमेलहरूमा प्राविधिक कारणले समस्या आएको छ । यसको सञ्चालनमा लाग्न आवश्यक कार्य भइरहेको जानकारी गराउँदै यसबाट सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौँ।“ तर, स्रोतहरूका अनुसार यो सूचना मात्रै ढाकछोप गर्ने प्रयास हो । ह्याकरहरूले बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास गरेको दाबी गरिएको छ, जसले गर्दा बोर्डको सम्पूर्ण डिजिटल सुरक्षामा प्रश्नचिन्ह खडा भएको छ । धितोपत्र बजारका विज्ञहरूले यस घटनालाई गम्भीर ठहर गर्दै बोर्डको साइबर सुरक्षामा कमजोरी भएको बताएका छन्।

“यस्ता संस्थाहरूको इमेल र वेबसाइटमा ह्याकिङ प्रयास हुनु भनेको सम्पूर्ण बजारको विश्वसनीयतामा असर पर्नु हो,“ एक बजार विश्लेषकले भने । बोर्डले यसबारे थप छानबिन गरिरहेको बताइए पनि आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । यस घटनाले नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षाको आवश्यकताबारे बहस सुरु गरेको छ । सम्बन्धित पक्षहरूले सतर्क रहन र बोर्डबाट आउने कुनै पनि मेलको प्रमाणिकता जाँच्न सुझाव दिएका छन् । थप विवरणका लागि बोर्डको आधिकारिक वेबसाइट वा सम्पर्क नम्बरहरू प्रयोग गर्न भनिएको छ ।

Related News