नेप्से सामान्य सुधारतर्फ, परिसूचक बढे पनि कारोबार रकम घट्यो
Author
NEPSE TRADING

साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन दिनदेखि निरन्तर घटिरहेको बजार सोमबार २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले बढेको छ। यद्यपि, बजार बढे पनि कारोबार रकम घटेको छ। आइतबार ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३२९ स्टकको ५६ हजार ३४७ पटकको कारोबारमार्फत ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड २६ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। यस दिन सालपा विकास बैंकको सेयर सकारात्मक सर्किटमा कारोबार हुँदै ४३९.२० रुपैयाँ पुगेको छ। रिलायन्स स्पिनिङ मिल्स, मेगा म्युचुअल फन्ड–१ र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ भने एनआईबिएल समृद्धि फन्ड–२ को मूल्य घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत अग्रस्थानमा रह्यो। १३ उपसमूहमध्ये ६ उपसमूह बढ्दा ७ उपसमूह घटेका छन्।


