नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारुढ दलहरूबीच सहमति भएको खबरले मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। मन्त्रिपरिषद्को साँझ ५ बजे बस्ने बैठकमा गभर्नर नियुक्तिको निर्णय हुने अपेक्षासँगै लगानीकर्ताहरूमा उत्साह छाएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४९.०९ अंक (१.८६%) ले उकालो लागेर २६७७ अंकमा उभिएको छ। यद्यपि, बजारको वृद्धिसँगै कारोबार रकम भने केही खुम्चिएको छ। सोमबार ७ अर्ब ३५ करोडको कारोबार भएकोमा मंगलबार ७ अर्ब ३१ करोडमा सीमित भएको छ।
कुल २२९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १५ कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रहेको छ। सबै सेक्टरका सूचकहरू हरियाली बनेका छन्। विशेषगरी होटल तथा पर्यटन क्षेत्र ३.४२% ले सबैभन्दा धेरै उकालो लागेको छ। त्यसैगरी, बैंकिङ १.९१%, विकास बैंक २.९५%, फाइनान्स २.४४%, हाइड्रोपावर २.४५%, लगानी २.३३%, जीवन बीमा १.३२%, उत्पादन १.८९%, माइक्रोफाइनान्स १.१३%, निर्जीवन बीमा १.७४%, अन्य ०.८४% र व्यापार समूह १.४९% ले बढेका छन्।
पाँच कम्पनीको सेयर मूल्य अधिकतम १०% ले बढेको छ। सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोले यो सीमामा वृद्धि हासिल गरे। त्यस्तै, मातृभूमि लघुवित्तको ७.८३%, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८८% र जोशी हाइड्रोपावरको ६.१४% मूल्य बढेको छ।
यता, विन नेपाल लघुवित्तको सेयर मूल्य ३.०९% ले घटेर सबैभन्दा धेरै ओरालो लाग्नेमा परेको छ। आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर र सोल्टी होटल अग्रस्थानमा छन्।
गभर्नर नियुक्तिको सहमतिले बजारमा सकारात्मक सन्देश गएको विश्लेषकहरू बताउँछन्। तर, कारोबार रकममा आएको कमीले लगानीकर्ताहरू अझै सतर्क रहेको देखिन्छ। गभर्नर नियुक्तिको औपचारिक घोषणापछि बजारले थप गति लिने अपेक्षा गरिएको छ।





